नम्बर १ नायिका रेखा थापा

चैत महिनको अन्तिम सातालाई छाडेर गन्ति गर्ने हो भने, वर्ष २०७१ सालमा झण्डै ८० वटा नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । गत वर्षको तुलनामा यो वर्ष प्रदर्शनमा आएका फिल्मको संख्यामा झण्डै १० ले कमी आएको छ । कम फिल्म प्रदर्शनमा आउनु सुखद पक्ष भएपनि हिट फिल्मको संख्या बढ्न नसक्नु भने वर्ष ०७१ सालको दुःखद पक्ष रह्यो । प्रदर्शनमा आएका झण्डै ८० फिल्महरु मध्ये १० वटा फिल्मले पनि निर्मातालाई नाफा दिन नसकेको व्यापारिक लेखाजोखाले देखाउँछ । फिल्मको व्यापार जे जस्तो भएपनि वर्ष ०७१ सालमा नेपाली कलाकार भने चलिरहे, चर्चामा आइ नै रहे । तर, फिल्मको सुखद व्यापारिक पक्षको महसुश भने एकाध कलाकारले मात्रै गर्न सके । नायिका रेखा थापा गत वर्षहरुमा जस्तै ०७१ सालमा पनि विभिन्न कोणबाट चर्चामा आइन् । विगत दश वर्ष देखि नम्वर एक नायिकाको दौडमा प्रथम स्थानमा रहेकी नायिका थापाले वर्ष ०७१ सालमा भने दुवै हात नभएका सुदर्शन गौतमलाई आफ्नो फिल्मको हिरो बनाउने हिम्मत जुटाइन् । रेखा फिल्मस्बाट निर्माण भएको फिल्म ‘हिम्मतवाली’ मा अपाङ्गता भएका सुदर्शनलाई महत्वपूर्ण भूमिकामा प्रस्तुत गरेर रेखा दर्शकको मन समेत जित्न सफल भइन् । ‘हिम्मतवाली’ ०७१ सालमा प्रदर्शन भएको सुपरहिट मध्येको एक फिल्म हो । ०७१ सालमा रेखा अभिनित अर्को दुई फिल्महरु पनि प्रदर्शनमा आए, ‘दमदार’ र ‘तथास्तु’ । रेखाको अतिथि भूमिका रहेको फिल्म ‘दमदार’ ले इनिसियलको व्यापार गर्यो भने ‘तथास्तु’ ले मोफसल बन्दका बावजुद पनि लगानी सुरक्षित गर्ने व्यापार गर्यो । फिल्म निर्माण एवं प्रदर्शनसँगै नायिका, निर्माता एवं निर्देशक रेखा थापाले सामाजिक घटना र चासोका विषयमा पनि आफ्नो सहभागी जनाइन् । बलात्कार पिडित दुई पूजालाई आफ्नो आगामी फिल्म ‘राम प्यारी’ मा अभिनय गराउने पक्का गरेकी रेखाले एसिड आक्रमणमा परेका दुई किशोरीलाई भेटेर अगाडी बढ्ने हिम्मत दिइन् । चर्चा, फिल्मको सुखद् व्यापार र सामाजिक कार्यमा देखिएको सहभागीताको हिसाबले रेखा थापा वर्ष ०७१ सालमा पनि नम्वर एकको पथमा प्रथम नै रहिन् ।
नायकतर्फ भने ०७१ सालको पहिलो महिना बैशाखमा प्रेमिका सपना भण्डारी सँग बिहे गरेर लाम लाइटमा आएका नायक आर्यन सिग्देल अभिनित यो वर्ष आधा दर्जन फिल्महरु प्रदर्शनमा आए । प्रदर्शनमा आएको पाँच फिल्म मध्ये आर्यनका जम्मा दुई वटा फिल्म ‘नोभेम्वर रेन’ र ‘लज्जा’ ले मात्रै लगानी सुरक्षित गर्न सके । आर्यनका बाँकी तीन फिल्महरु ‘नाइके’, ‘अलबिदा’ र ‘माला’ निराशजनक व्यापार गरे भने फिल्म ‘पुर्नजन्म’ ले लगानीको झण्डै पचास प्रतिशत निर्मातालाई फिर्ता गर्न सफल भयो । बिहे, व्यस्तता र फिल्म प्रदर्शनका हिसाबले नायक आर्यन सिग्देलले वर्ष ०७१ सालमा अरु नायकालाई पछि पारे ।
नायिका तर्फ प्रियंका कार्कीको वर्ष ०७१ सालमा सर्वाधिक फिल्महरु प्रदर्शनमा आए । तर, प्रदर्शनमा आएका अधिकाशं फिल्मबाट प्रियंकाले व्यावसायिक सफलताको महसुश गर्न सकिनन् । प्रियंका अभिनित ‘आवरण’, ‘पुन्टे परेड’ (अतिथि भूमिका), ‘मेरो वेस्ट फ्रेन्ड’, ‘सुन्तली’, ‘माला’ र ‘षडङ्ग’ जस्ता फिल्मले व्यावसायिक असफलता पाए । यद्दपी फिल्म ‘सुन्तली’ र ‘माला’ मा प्रियंकाले गरेको अभिनयको तारिफ गरियो, भयो । करिअरमै ०७१ को बैशाखमा प्रदर्शनमा आएको फिल्म ‘नाई नभन्नू ल २’ मात्रै प्रियंका अभिनित व्यापारिक सफल फिल्म हो । ‘नाई नभन्नू ल २’ को सिक्वेलमा पनि प्रियंकाको अभिनय रहेको छ, जुन फिल्म चैत २७ गते देखि प्रदर्शनमा आउने प्रतिक्षित छ । आधा दर्जन फिल्म प्रदर्शनमा आएर एकले पनि व्यापारिक सफलता हाँसिल गर्न नसकेपछि प्रियंकाको वर्ष ०७१ साल अनलक्की देखियो ।
वर्ष ०७१ सालमा नायक जिवन लुईटेल पनि ‘अनलक्की’ देखिए । जिवन अभिनित मात्र तीन फिल्महरु प्रदर्शनमा आए । प्रदर्शनमा आएका जिवनका ‘सिसा’ र ‘ठूली’ फिल्म ‘कोहिनूर’ को चेपुवामा परे भने ‘भूल भुलैया’ ले निर्माताको पुरै रकम असुल गर्न सकेन ।
मुखौटा’, ‘मेरो भ्यालेन टाइन’, ‘आभाष’, ‘मिसन पैसा २’ र ‘भीमदत्त’ जस्ता फिल्महरु व्यापारिक रुपमा असफल भएपनि वर्ष ०७१ सालमा नायिका निशा अधिकारी क्रिकेटर शरद भेषवाकर सँगको प्रेम चक्कर र पत्रकारको ग्रेडिङ गर्दै आफ्नो फेसबुकमा स्टाटस लेखेपछि चर्चा र आलोचनाको पत्र बनिन् । ०७१ सालमा नायिका केकी अधिकारीका चार फिल्महरु प्रदर्शनमा आए । तर, केकी अभिनित फिल्मकोे व्यापार गतिलो हुन सकेन । ‘मेरो बेस्ट फ्रेन्ड’, ‘श्री ५ अम्बरे’ र ‘माइ प्रसिम’ जस्ता केकीका फिल्महरु वर्ष ०७१ मा असफल भए भने फिल्म ‘पुर्नजन्म’ ले निर्माताको लगानीको पचास प्रतिशत जति रकम फिर्ता गरिदियो । २ हजार ७१ सालमा नायिका ऋचा शर्मा अभिनित एक मात्र फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शनमा आयो । यो फिल्मको व्यापार उत्साहप्रद नभएपछि ऋचा स्वतहः छायाँमा परिन् । बरु निर्देशक निश्चल बस्नेत सँगको प्रेम सम्बन्धका कारण ऋचा चर्चामा आइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘झोला’ बाट एकाएक चर्चामा आएकी नायिका गरिमा पन्तको चर्चा यो वर्ष त्यति भएन । गरिमाका दुवै फिल्महरु ‘ठूली’ र ‘रङ्ग बैजनी’ व्यापारिक अफलताको तालिकामा पर्न आए । नायिका घिमिरेका पनि ०७१ सालमा प्रदर्शनमा आएजति सबै फिल्महरु असफल भए । वर्ष बिहे गरेकी सुमिनाले फिल्म नै नखेल्ने निर्णय लिएकी छन् । नायिका निता ढुङ्गाानाको एकमात्र फिल्म ‘भूल भुलैया’ वर्ष ०७१ मा प्रदर्शनमा आयो । निताको यो फिल्मले सुखद् सुरुवाती व्यापार गर्यो तर लगानी भने उठाउन सकेन ।
नायक सौगात मल्ल अभिनित ‘मुखौटा’, ‘श्री ५ अम्बरे’ र ‘षडङ्ग’ जस्ता फिल्महरुले वर्ष ०७१ मा व्यावसायिक असफलता बेहोरे । तर, यी सबै असफल फिल्महरुमा निभाएको भूमिकाबाट सौगातले प्रशंसा पाउन सफल भए । कलाकार दयाहाङ राईको फिल्म ‘कवड्डी’ सफल भएपनि ‘नागबेली’ र ‘सम्बोधन’ जस्ता फिल्मले व्यापारिक निराशा बेहोरे । यद्पी दयाहाङ वर्ष भरी नै फिल्मको छायाँकनमा व्यस्त रहे ।
एक समयका चकलेटी स्टार दीलिप रायमाझीका पनि वर्ष ०७१ ‘विधवा’ र ‘लोग्ने मान्छे’ लगायत फिल्महरु प्रदर्शनमा आए । तर, यी फिल्म व्यापारिक हिसाबले पूर्ण रुपमा असफल भए । महानायक भनेर चिनिने राजेश हमाल फिल्म भन्दा पनि प्रेमिका मधु भट्टराईसँगको बिहेका कारण वर्ष ०७१ मा चर्चामा रहे । यो सालमा नायिका झरना थापा अभिनित कुनै पनि फिल्म प्रदर्शनमा आएनन् । नव नायक, नायिकातर्फ दुवै हात गुमाएका सुदर्शन गौतम र मोडल शिल्पा पोखरेलेका वर्ष ०७१ मा चर्चा भयो । रेखा फिल्मस्को ‘हिम्मतवाली’ र छविराज प्रोडक्सनको ‘लज्जा’ ले क्रमशः सुदर्शन र शिल्पाले रजतपटमा डेव्यु गरेका हुन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News