डान्सको लागि अफ्रिका लगी बेचिएकी चेली यसो भन्छिन्

नेपाली युवती छिमेकी राष्ट्र भारतको विभिन्न वेश्यालयमा ललाईफकाई गरी बेचिनु सबैलाई थाहा भएकै तथ्य हो। अहिले यस्तो बेचबिखनमा निकै कमि आएको भनिन्छ। तर पछिल्लो समयमा अफ्रिकी मुलुकको विभिन्न डान्सबारमा नेपाली चेली बेचिने क्रम बढेको भेटिएको छ। केही समयअघि मात्र केन्याको डान्सबारमा बेचिएकी पाँचथरकी २२ वर्षीया मुना लिम्बु (नाम परिवर्तन) सितको कुराकानी।


म पेशाले डान्सर हुँ, म डान्स गर्छु अर्थात नृत्य गर्छु। म आफ्नो पेशालाई सम्मान गर्छु। तीन वर्ष पहिला नै म विदेश गएको थिएँ। सुरुमा म बहराइन गएँ, बहराइनमा डान्स नै गर्थेँ। त्यहाँ करिब एक वर्ष काम गरेँ। त्यसपछि म मलेसिया गएँ। त्यहाँ पनि डान्स। मलेसियामा पनि ८/९ महिना जति काम गरेँ र अन्तिम पटक केन्या गएँ।

दलाललाई कसरी चिनेँ ? हेर्नुस्, त्यो ठूलो कहानी छ। तर पनि म तपाईँलाई बुझाउने प्रयास गर्छु। म एक गरिब परिवारको मान्छे। बुवाले सानैमा छोडेर जानुभयो। त्यसकारण आमालाई हेर्ने जिम्मेवारी मेरै काँधमा आयो र मैले काठमाडौंको डान्सबारमा काम सुरु गरेँ। काठमाडौंको डान्सबारमा धेरै समय काम गरेँ। त्यसै सिलसिलामा एउटी दिदीले विदेशमा डान्स गर्न गएपछि धेरै पैसा पाइन्छ भन्नुभयो। सुरुमा त्यो दिदीको कुरामा विश्वास लागेन। पछि कुरा गर्दै जाँदा एक जना दलाललाई भेटाइदिनु भयो, उहाँसँग मेरो पटक पटक डान्सबार र बहिर भेट भयो।

त्यो दलालले हाम्रो मन जित्यो र हाम्रो फोटो केन्यामा भएको साहुलाई पठाउनु पर्छ भन्यो। मेरो फोटोहरु खिचे पाँच/सात वटा। त्यसको केही सातामा हामी दिल्ली जाने पक्का भयो भनेर म्यासेज आयो।

सबै कुराको सेटिङ भएको हुन्छ, सबै काम दलालले नै गर्छन्, पासपोर्ट पनि उनीहरुले नै बनाइदिन्छन् ।

हाम्रो सबै डिल काठमाडौंमा नै भयो। त्यसपछि हामी कलंकीमा गएर बस चढ्यौँ काँकडभिट्टाका लागि र फेरि त्यहाँबाट एउटा जीप भाडामा लिएर दिल्ली पुग्यौँ। मसँगै अरु चार जना नेपाली केटीहरु थिए। फोनमा पटक पटक कुरा हुन्थ्यो, यति पैसा दिन्छु, उति दिन्छु, काम त डान्स गर्ने मात्र हो। तिमीहरु दिल्ली आऊ, यस्तै यस्तै कुराहरु हुन्थ्यो। हुनत मेरो नेपालबाट फोटो पठाएकै थियो। तर, फेरि मसँगै भएका चार जना केटीहरुको दिल्लीमा पनि फोटो सुट गर्‍यो,  छोटोछोटो कपडा लगाएर। केन्या पठाए। हामी दिल्लीको एउटा होटेलमा करिब चार/पाँच दिन बस्यौँ। त्यसपछि दिल्लीबाट केन्या पुग्यौँ।

तलब त सबैको आ–आफ्नै हुन्छ। तर मलाई एक लाख ५० हजार मासिक दिन्छु भनेका थिए। त्यसमध्ये नेपालमा भएकै समयमा मलाई एक लाख रुपैयाँ दिएको थियो सुरुमै।

मेरो लागि केन्या पुरै नयाँ ठाउँ थियो। फोनमा मात्र कुरा भएको थियो। मैले आफू जस्तै धेरै नेपाली युवतीहरु त्यहाँ देखेँ। त्यहाँ पुगेपछि बल्ल फोनमा पटक/पटक कुरा भएको मेन दलाल सुरज तामाङलाई मैले भेटेँ। म भन्दा पहिला पुगेका केटीहरुले के-के कुरा गर्थे।

हामीलाई पनि तपाई जस्तो डान्सको सपना देखाएर यहाँ ल्याएको हो। तर त्यस्तो होइन रैछ। हामीलाई त बेचेको पो रैछ। त्यो कुरा सुन्दा धेरै रोएँ तर हामी रोए, चिच्याए, कराए पनि कसैले सुनेन र बाध्य भएर त्यो नारकीय जीवनमा फँस्यौँ।

म करिब ९ महिना केन्या बसेँ। हुनत, यहाँबाट डान्सका लागि भनेर नेपाली युवतीहरुलाई लान्छन् तर त्यहाँ पुगेपछि एउटा कोठामा बन्धक बनाएर राख्छन्, डान्स गर्नु पर्थ्यो र त्यसपछि कुनै ग्राहकले मन पराएको खण्डमा उनीहरुसँग अनैतिक कृयाकलाप गर्न बाध्य पारिन्थ्यो।

समयको कुनै ठेगान थिएन। तर पनि राती १० बजेदेखि बिहान १०/१२ बजेसम्म डान्स गर्नुपर्थ्यो। कहिलेकाहीँ त छिटो पनि हुन्थ्यो, तर नेपाली युवतीसँग मानिसको होइन पशुको व्यवहार गर्थ्यो। कति साथीहरु डान्स गर्दागर्दै बिरामी हुन्थे, तर पनि डान्स गर्नुपर्ने। औषधी उपचारका लागि कतै पनि लग्दैन थिए जति बिरामी हुँदा पनि।

केन्यामा एक जना नेपाली छ जसको नाम राजन थापा हो। त्यसको डान्सबार छ। त्यसकैमा म डान्स गर्थेँ। राजन थापाको तीन वटा क्लब छन्। सबै क्लबलाई द रेडी नामले चिन्छन्। तर एउटाको नाम द रेडी बलिउड, अर्कोको नाम रेडी पल्मस र तेस्रोको नाम द रेडी टोप रहेको छ। थापाले सञ्चालन गरेको तीन वटै क्लबमा पालैपालो डान्स गर्नु पर्थ्यो।

थापाको तीन वटै क्लबमा गरी ५० जना भन्दा बढी नेपाली युवतीहरु छन्। सबैलाई डान्सकै लागि नेपालबाट लगेका छन् र सबैलाई थुनेर राखेका छन्।

उनीहरुसित धेरै कुराहरु हुन्थ्यो। कहिलेकाहीँ नेपाल सम्झेर हामी सबै जना धेरै रुन्थ्यौँ। तर कसैले सुन्दैन थियो। सबै जनालाई धम्काएर राखेका छन्। जबर्जस्ती विभिन्न काम गर्न लाउँछन्, कसैले केही बोल्न सक्दैन। अब हामी कहिले पनि नेपाल फर्किन सक्दैनौं, हाम्रो जीवन बर्बाद भयो भन्थे। कसैलाई पैसा पनि दिँदैन, खान पनि दिएको छैन, हाम्रो नेपालमा सबै सेटिङ भएको हुन्छ, प्रहरीले मलाई केही गर्न सक्दैन, सबै पैसामा बिक्छन् भन्थे केटीहरु।

नेपालबाट गएका अधिकांश युवतीहरुलाई त्यस्तै काम गर्न लगाउँछन्। तर मैले कहिले पनि त्यस्तो गर्न मानिनँ। साथीहरुले सुनाउँथे, अनैतिक कृयाकलाप गर्न नमानेपछि साहुले कुटपिट गर्छन्। यस्तै हो सर । साहुले भन्छन् कि तिमीहरुलाई हामीले किनेर ल्याएको हौं, अनैतिक कृयाकलापकै लागि।

यस्तो हो कि सर, हामीलाई त नेपालबाट डान्सका लागि ल्याउँछन्, सहमति मै । तर हामीलाई थाहा नभएर बेचिसकेका हुन्छन्। हिन्दी, अंग्रेजीमा अश्लील कपडा लगाएर डान्स गर्नुपर्थ्यो। अरु देशका पनि हुन्थे, भारतीय, पाकिस्तानी, बंगाली। तर नेपाली धेरै हुन्छन्।

यहाँबाट युवती लग्दा सस्तो हुन्छ। त्यही भएर नेपाली युवतीहरु धेरै हुन्छ र अफ्रिकी मुलुकमा नेपाली युवतीहरुको धेरै डिमान्ड रहेको भन्थ्यो साहुले। अरु कुरा थाहा छैन।

मेरो सबै सपना चकनाचुर भयो। धेरै पैसाको पछाडि लाग्नु हुन्न रैछ। जति हुन्छ नेपालमै राम्रो काम गरेर आफ्नो पेशा प्रति गर्व गर्न चाहन्छु। सक्नुहुन्छ भने त्यहाँ भएका नेपाली युवतीहरुलाई फर्काइदिनुस्।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News