अस्तित्वको खोजि.......


हामी आफैं ठगिएका होइनौं
‘ठग’ भनिनेहरूले ठगेका हुन् हामीलाई
म ति 'ठग' हरूलाई
कठ्घरामा उभ्याउन चाहन्छु
र, दिलाउन चाहान्छु - कडा भन्दा कडा सजाए

सबै जमानाको कुरा गर्छन् यहाँ
आधुनिक जमानाले दिएको सहजताको कुरा गर्छन्
तर मलाई यो जमाना
फिटिक्कै मन परिरहेको छैन्

श्रीमान् जमाना आधुनिक आयो त
खै ! के दियो हामीलाई?
न न्याय दियो
न अधिकार दियो
न दियो सुरक्षा कतै
झनझन त्रास थपिइरहेछ बरू-
बाबुद्वारा छोरी डराउनु पर्ने
दाजुद्वारा बहिनी जोगिनुपर्ने
अनि, सचेत रहनुपर्ने सधै ससुराद्वारा बुहारी पनि


श्रीमान् ती 'ठग' भनिनेहरूले
आधुनिकताको फाइदा उठाइरहेछन्
र नामेट पार्न खोजिरहेछन् हाम्रो अस्तित्व
यदि हैन भने -
धर्तीमा पाइला टेक्नु अगावै
किन मिल्काइदिन्छन् हामीलाई?

म अचम्म परिरहेछु
र चुपचाप हेरिरहेछु - यी 'ठग' हरूको नौटंकी
अनि मनमनै सोचिरहेछु -
हेरौला म पनि, हामी नभै कसरी चल्दो रहेछ यो सृष्टी?

श्रीमान् ध्यान पुगोस् ती बस्तीहरूमा
जहाँ आधुनिकताको पहुँच छैन्
हो त्यहीँ जन्मिन्छौ हामी
यदि पहुँच हुँदो हो त
पक्का पनि मिल्काइदिने थिए हामीलाई
आमाको गर्भबाटै
त्यसपछि,
न टेक्न पाउने थियौ हामीले यो धर्ती
न देख्न पाउने थियौ यो रमिता पनि

बिडम्बना, त्यहाँ पनि पुग्छन् ती 'ठग' हरू
र, कागती निचोरे झै निचोर्छन् हामीलाई
पुरुषवादी समाजको झोली भिराएर
आफ्ना पैतालामुनी दबाउँछन् हामीलाई
अनि, बनाई छाड्छन् हामीलाई
वंश चलाउने मेसिन पनि
हामीले चुपचाप चुपचाप
बिना प्रतिकार - भने जसै गरिरहनुपर्छ

जसले हाम्रै जन्म स्वीकार गर्दैनन्
त्यही आधुनिकता किन चाहियो हामीलाई?
आधुनिक प्रविधी र जमानालाई निहुँ बनाएर
हाम्रै अस्तित्वमाथि धावा बोल्ने
अपराधिहरू 'ठग' हुन्

हो श्रीमान् कि त 'ठग' हरूलाई
कारबाही गरियोस्
हैन् भने लिङ्ग पहिचान गर्ने
आधुनिक प्रविधिको खारेज गरियोस्
यदि दुवै कार्यमा पाइला चालिदैन भने
हामी आफै गर्छौ जे गर्नुपर्छ
तर बिन्ती श्रीमान्
कानुनको आँखामा पट्टी बाँधियोस्
र, केही नदेखिएको नाटक गरियोस्
हो श्रीमान् हामी आफै गर्छौ जे गर्नुपर्छ
Phucchi.jamuna@hotmail.com

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News