‘ज्यामरले विमानसंगको सञ्चारमा अवरोध

विमानहरुसंग महत्वपूर्ण सञ्चार गर्ने तथा हवाइ मार्ग पहिल्याउने काममा प्रयोग गरिने रेडियो तरंगलाई फ्रिक्वेन्सी ज्यामर यन्त्रको अवैध प्रयोगका कारण अवरोध आउने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले त्यस्तो कार्य नरोकिए ठूलो दुर्घटना निम्तिन सक्ने चिन्ता व्यक्त गरेको छ।
त्यस्तो अवरोधबारे पछिल्लोपटक विमान चालकहरुबाटै गुनासो आएपछि अनुसन्धान गरेको उक्त निकायले यसै साता सार्वजनिक सूचना नै निकालेर अनधिकृत रुपमा रेडियो तरंग रोकिदिने फ्रिक्वेन्सी ज्यामर प्रयोग गरेको भेटिए कडा कारवाही गर्ने चेतावनी समेत दिएको थियो।
फ्रिक्वेन्सी ज्यामरको प्रयोगले उक्त उपकरण वरपरको निश्चित परिधिभित्रको क्षेत्रमा रेडियो तरंगमार्फत हुने सञ्चार सम्पर्क अवरुद्ध हुन्छन्।
संवेदनशील
खासगरी सुरक्षा संवेदनशीलता भएका विशिष्ट व्यक्तिहरुको आवातजावत पत्ता लगाउन नसकियोस भनेर सुरक्षा निकायहरुले फ्रिक्वेन्सी ज्यामरको प्रयोग गर्ने गरेको देखिन्छ।
त्यसको अलावा सर्वोच्च अदालत, संविधानसभाको बैठक कक्ष जस्ता स्थानमा नियमित कामकारवाहीमा मोबाइल फोनको प्रयोगले समस्या उत्पन्न गराएपछि त्यसको नियन्त्रणका लागि पनि फ्रिक्वेन्सी ज्यामरहरुको प्रयोग गर्ने अभ्यास रहेको अधिकारीहरु बताउंछन्।
तर अनुमति प्राप्त त्यस्ता निकाय बाहिर पनि अनधिकृत रुपमा फ्रिक्वेन्सी ज्यामरहरु प्रयोग भइरहेको आशंका गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले त्यसका कारण विमानहरुसंगको अत्यन्तै महत्वपूर्ण सञ्चारमा अवरोध आउने गरेको जनाएको छ।
विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले भने, “फ्रिक्वेन्सी ज्यामरका कारण हवाइ सुरक्षामा नकारात्मक असर पर्छ। पाइलटसंग गर्नुपर्ने कुराकानी नै अवरुद्ध हुन्छ। त्यसले गर्दा दुर्घटना हुने ठूलो सम्भावना रहन्छ”।
अव्यवस्था
गत डिसेम्बर महिनाको दोस्रो साता सञ्चारमा अवरोध आएकोबारे विमान चालकहरुले दुई पटक आफूहरुसंग गुनासो राखेको श्रेष्ठले बताए।
त्यसपछि गरिएको विमानस्थलको अनुसन्धानबाट फ्रिक्वेन्सी ज्यामरका कारण समस्या आएको निचोड निकाल्दै उक्त उपकरण प्रयोग नगर्न सार्वजनिक अपील गरिएको थियो।
तर यस्ता ज्यामर कसले कहां प्रयोग गरिरहेको छ भन्ने पत्ता लगाउन सक्ने सूचना तथा सञ्चार मन्त्रालयलाई विमानस्थलले पछिल्लो समस्याबारे जानकारी समेत नदिएको स्वयम् अधिकारीहरु नै स्वीकार्छन्।
फ्रिक्वेन्सी ज्यामरको प्रयोगबारे हालसम्म पनि औपचारिक कार्यविधि नहुंदा समस्या उत्पन्न भएको ठानिएको छ।
त्यसबारे सोध्दा सञ्चारमन्त्रालय अन्तर्गतको फ्रिक्वेन्सी व्यवस्थापन शाखाका प्रमुख अनुप नेपालले भने, “हामी ज्यामरको आयात र प्रयोगबारेको कार्यविधि बनाउने चरणमा छौं। सार्वजनिक दूरसञ्चार सेवालाई अवरुद्ध पार्ने गरी प्रयोग हुने ज्यामर र सुरक्षा निकायले प्रयोग गर्ने ज्यामरबीच वर्गीकरण हुने गरी कार्यविधि ल्याउंछौं”।
तर आयातको हकमा भने दूरसञ्चार प्राधिकरणको सिफारिशमा सञ्चारमन्त्रालयले अनुमति दिन सक्ने व्यवस्था हाल रहेपनि उक्त मन्त्रालयले देशभित्र को को संग कति कतिवटा ज्यामर छन् भन्ने अभिलेख समेत राख्न नसकेको देखिन्छ।


Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News