सिरहा, माघ १०– सिरहाको गोलबजार नपा–६ बाट एक युवकले महिलालाई छुरा हानेर उनकै छोरी लिएर फरार भएको छ । स्थानीय गोबर्धन साहकी श्रीमती मिनादेवीलाई छुरा प्रहार गरी १५ वर्षिया छोरी ममतालाई लिएर ३५ वर्षिय महेन्द्र साह फरार भएको हो ।
शुक्रबार राती छुरा प्रहारबाट घाइते भएकी मिनादेवीको गोलबजारमै प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको छ । उहाँको गालामा धारिलो हतियारले प्रहार गरेको चोट रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
गोबर्धन र महेन्द्रले गाउँमा सँगै व्यवसाय गर्दै आएका थिए । महेन्द्र र गोबर्धनकी छोरी ममताबीच प्रेम सम्वन्ध रहेको स्थानीयबासिन्दाले बताएका छन् । छोरी दिन नमान्दा उनले छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
महेन्द्रको पहिला पनि विवाह भईसकेको छ । उनको छोराछोरी समेत छन् । ममतालाई लिएर फरार भएको महेन्द्रको खोजी भैरहेको प्रहरीले जनाएको छ ।