करिब ६ वर्षदेखि म 'विजनेश रिपोर्टर'को रुपमा पत्रकारितामा सक्रिय छु । रिपोर्टिङको सिलसिलामा समाजमा प्रतिष्ठित, धनी र इज्जतिला भनिएकाहरुसँग सम्पर्क र भेटघाट हुन्छ । उद्योगी व्यापारीहरुसँगको उठबस पनि बाक्लै छ । मैले सबैसँग पेशागत मर्यादामा रहेर सम्बन्ध कायम गरेको छु । तर, पनि प्रतिष्ठित, सम्मानित भनिएका ब्यक्तिहरु नै विभिन्न अफर राख्छन् । प्रतिष्ठितको मुखुण्डोभित्रको कुरुपता देखाउँछन् ।
एक विहान ठूलै व्यवसायीको फोन आयो । मैले सोचेँ समाचारका लागि महत्वपूर्ण सूचना आयो । ती व्यवसायीले एउटा कार्यक्रममा सहभागी हुन नेपालबाट एक टोली युरोप जान लागेको र टोलीमा मेरो नाम पनि समावेश गरिएको खबर सुनाउँदै युरोप भ्रमणको निमन्त्रणा दिए । ँयुरोप जाने, त्यो पनि देशको प्रतिनिधित्व गर्ने टोलीमा सहभागी भएर । यस्तो खबरले को पो खुशी नहोला र ! ' उनले पासपोर्ट मागे, मैले दिए । त्यसपछि एक दिन काम छ कार्यलयमा भेटौ भन्दै बोलाए । म गएँ । उनको अफिस चेम्बरमा कुराकानीकै क्रममा लामो भूमिका बाँधेर युरोप भ्रमणमा 'रुम शेयर' गर्नुपर्ने प्रस्ताव गरे । आफूलाई प्रतिष्ठित व्यापारी ठान्नेको यस्तो घटियाँ सोचाई देखेर चकित भए ।
जब उसको मुखबाट त्यो प्रस्ताव आयो, एकमन सोचे जुत्ता फुकालेर बजाइदिउँ । अर्को मनमा आयो, यस्ता गलत मनसायका व्यक्तिलाई मुखभरिको जवाफ नै काफी छ । 'गलत प्रस्ताव स्विकारेर मलाई कतै जानु छैन, तपाइँको युरोप तपाईं नै जानुस् भन्दै हप्काए ।' उसले आँखा झुकायो । म सरासर च्याम्बरबाट निस्किएँ ।
त्यसपपछि युरोप भ्रमणको लिस्टमा रातारात मेरो नाम परिवर्तन गरेर अर्को पुरुष पत्रकारलाई लगियो । अनुचित प्रस्ताव अस्वीकार गर्दा युरोप भ्रमणको अवसर गुमाएकोमा मलाई कुनै पछुतो छैन । बरु, आफ्नो आत्मसम्मानमा अडिग रहन सकेकोमा खुशी छु ।
गलत प्रस्ताव स्वीकारेर युरोप गइनँ
Arts,entertainment and News