तीन दिन जेल बसिसकेका सलमानलाई जेल सजाय हुनसक्ने

 कालो हरिण शिकार काण्डमा तीन दिन जेल बसिसकेका सलमानलाई जेल सजाय हुनसक्ने
मुम्बई । अभिनेता सलमान खानलाई मुद्दाको लफडाले सताइरहेको छ । कहिले कालो हरिणको शिकार त कहिले गाडीको ठक्करबाट ज्यान मारेको अभियोग । कालो हरिण शिकार काण्डमा तीन दिन जेल बसिसकेका सलमान यतिबेला मानिस मारेको अभियोग अर्थात ‘हिट एण्ड रन’ काण्डमा अदालत धाइरहेका छन् । पछिल्ला बहसका आधारमा सलमानलाई जेल सजायँ हुनसक्ने सम्भावना बढेको भारतीय संचारमाध्यहरुले जनाएका छन् । भारतको क्षेत्रीय परिवहन कार्यालय (आरटीओ) का एक अधिकारीले सलमानले सन् २००२ मा गराएको दुर्घटनामा उनलाई जेल सजाय हुन सक्ने संकेत गरेका हुन् । सन् २००२ सेप्टेम्बर २८मा सलमानले चलाएको कार बान्द्रास्थित एक बेकरीमा ठोक्किदा बेकरी अगाडी उभिएका एक सर्वसाधारणको ज्यान गएको थियो भने अन्य चार जना घाईते भएका थिए । दश वर्षदेखि चलेको यो मुद्दा अझै छिनोफानो भएको छैन । अहिलेसम्म घटनावाट प्रभावित २० जना स्थानियसँग अदालतले सोधपुछ गरेको छ । अदालतमा बयान दिने सबैले सलमानले बेढंगी शैलीमा गाडी चलाएकाले दुर्घटना भएको बताएका छन् । दुर्घटना भएको बेला सलमानसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएको उल्लेख छ । सलमानले सन् २००४ मा मात्रै सवारी लाईसेन्स लिएका थिए । स्थानिय न्यायाधीश डी डब्लु देशपाण्डेले सलमानले सन् २००४ मा लाईसन्स लिएको प्रमाण अदालतमा पेश गरेका छन् । यदि उनले लाइसन्स नलिएको पुष्टि भएकोमा उनलाई जेल सजाय हुनेछ । सलमानकै कथामा ‘कैदी नम्बर २१०’ सलमान कालो हरिणको शिकार गरेको अभियोगमा सन् २००६ को अप्रिल महिनामा तीन दिन जोधपुरस्थित सेन्ट्रल जेलमा बसेका थिए । उनलाई ७२ घण्टा जेल बस्दा कैदी नम्बर २१० भनेर बोलाईएको थियो । उनी अर्का अभियुक्त महेश सन्नीका साथ जेल बसेका थिए । अहिले सोही विषयमा फिल्म बन्ने भएको छ । ‘कैदी नम्बर २१०’ नाम राखिएको फिल्ममा सलमानले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । तर, हिरोईन को हुने भन्नेमा अझै टुंगो लागेको छैन । रंजीत शर्माको निर्देशन रहने यस फिल्मको अधिकांश सुटिङ जोधपुरमा गरिने भएको छ । सलमानका चालक हरीश धुलानीले पनि यस फिल्ममा अभिनय गर्ने भएका छन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News