'सङ्गीत बिना जीवन हरपल अधुरो'


Thursday 26th of February 
सरोज बस्नेत, मोरङ्, १४ फागुन, पाँचथरको फिदिम–१ का गौरव आङ्बो लिम्बू नेपाली साङ्गीतिक यात्रामा स्थापित हुने क्रममा छन् । सानै उमेरदेखि सङ्गीतमा रुची राख्ने लिम्बूले तीन वटा म्यूजिक भिडियो बजारमा ल्याइ सकेका छन् भने नयाँ वर्षको अवसरमा पहिलो एल्बम बजारमा ल्याउने तयारीमा जुटेका छन् । सुरुमा रहरै रहरमा गीत गाउन थाले पनि साथीहरुले सकारात्मक प्रतिक्रिया दिएपछि झनै यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको उनको भनाई छ ।

उनले भने – 'सानोदेखि नै बाटोमा हिड्ँदा विभिन्न सांस्कृतिक कार्यक्रममा  गीत गाउने गर्थें,  बिस्तारै लगाव  बढ्दै गयो यसैमा रमाउन  थाले ।' उनले थप्दै भने–'गायक सुगम पोख्रेलका गीत सुन्दा आफूलाई पनि त्यस्तै गीत गाउने इच्छा हुन्थ्यो, त्यही इच्छा पूरा गर्न मैले गीत गाउन थालेँ ।' 
पेशाले उनी हेल्थ एसिस्टेन्ट (एचए) को रुपमा उर्लाबारी–४ स्थित उर्लाबारी हस्पिटलमा कार्यरत रहेका छन् । दुई वर्षअघिदेखि साङ्गीतिक यात्रामा सक्रिय लिम्बूले आगामी दिनमा स्रोताहरुको चाहना अनुसारको गीत सङ्गीत बजारमा ल्याउने प्रतिवद्धता जनाए । 'सङ्गीत क्षेत्रमा लागेपछि सबैको इच्छा चर्चित गायक बन्ने हुन्छ, मेरो पनि त्यो भन्दा फरक छैन' – उनले भने । सङ्गीतले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । उनले भने – 'सङ्गीत बिना जीवन हरपल अधुरो जस्तो लाग्छ ।'
सङ्गीतमा लागेर आफूले आत्मसन्तुष्टि पाएको उल्लेख गर्दै उनले भने– 'स्रोताहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु, जसले गर्दा यस क्षेत्रमा लाग्न हौसल्ला मिलेको छ ।' अहिलेको अवस्थामा एल्बम निकालेर लगानी सुरक्षित गर्न नसकिने उनको भनाई छ । स्रोताहरुको चाहना अनुसार गीत प्रस्तुत गर्न रुचाउने नवगायक लिम्बूले सङ्गीतबाट जीवन चलाउन सक्ने वातावरण बन्दै गएको बताए । सङ्गीत जीवनको अमूल्य वस्तु भएको उनको भनाई छ । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News