'प्रेम प्रस्ताव नै आएन',विमला तामाङ.
धादिङको विकट गाविस सेम्जोङमा जन्मिएकी विमला तामाङ अहिले चर्चित सेलिब्रेटी बनेकी छन्। हाल काठमाडौंको रेडन कलेजमा प्लस टु अध्ययनरत १८ वर्षीया विमला कुनै चलचित्र र मोडलिङमा लागेर सेलिब्रेटीको सूचीमा दरिएकी होइनन्।
६ महिनाअघि दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई एकमात्र कांस्य पदक दिलाएपछि विमलाले नेपालको इज्जतमात्र राखिनन्, त्यसपछि फुच्ची विमलाको उचाइ सगरमाथाभन्दा माथि पुग्यो।
'एसियाडपछि म सबैले चिन्ने व्यक्ति भएको छु। जहाँ गए पनि विमला भनेर बेलाउने गर्छन्। मबाट बढी आशा गर्ने पनि धेरै छन्', उनी भन्छिन्।
अध्ययन र खेलकुदलाई सँगै अगाडि बढाइरहेकी विमलालाई अहिले प्रेम र विवाह गर्न हतार छैन रे। 'विवाहबारे आफ्नो खुट्टामा उभिने भएपछि सोचौंला।
अहिले करिअर बनाउने समय हो। खेल्न र पढ्न घरपरिवारबाट राम्रो सहयोग पाइरहेकी छु', उनी भन्छिन्, 'मैले मोबाइल फोन बोक्न थालेको धेरै पनि भएको छैन। काम परेको व्यक्तिलाई मात्र म फोन दिन्छु। अहिलेसम्म कसैले प्रेमप्रस्ताव राखेको थाहा छैन।'
एसियाडमा नेपालबाट सहभागी २५ खेलमा विमलाले करातेको एकल कातामा नेपाललाई कांस्य पदक दिलाएकी थिइन्। इन्चोन एसियाडअघि सहभागिताको विषयलाई लिएर सबैभन्दा विवादित बनेको खेल कराँते थियो।
नेपाली कराँतेमा पदाधिकारीबीच अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताको लडाइँका कारण एसियाडमा एउटै स्पर्धामा सहभागी हुन नेपालबाट फरकफरक खेलाडीलाई दक्षिण कोरियासमेत लगिएको थियो।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको नेपाल कराँते महासंघका तर्फबाट विमलाले अन्तिममा सहभागिता पक्का गरेकी थिइन्। उक्त स्पर्धामा दावा गुरुङ अध्यक्ष रहेको राष्ट्रिय मान्यताप्राप्त कराँते महासंघका तर्फबाट चञ्चला दनुवारलाई कोरिया लगिएको थियो।
इन्चोनमा खेलअघि समेत आफ्ना खेलाडी खेलाउने विषयलाई लिएर ठूलै विवाद भएको थियो। अन्त्यमा चञ्चलाको स्थानमा विमलाले प्रतिस्पर्धा गरेकी थिइन्। सोही कारणले चञ्चलाले भने प्रतियोगिता खेल्न पाएकी थिइन्।
एसियाडपछि विमलालाई सरकारले १० लाख रुपैयाँ पुरस्कारबाट सहयोग गर्यो। अन्य ५० वटा संस्थाले समेत उनलाई नगद पुरस्कारसहित सम्मान गरे। विदेशमा सहयोगका लागि बोलाउने धेरै छन्। बुवाका साथीहरूले भनेर उनी हङकङमा सम्मान थाप्न गइन्।
बालाजु कराँते डोजोबाट खेल्दै आएकी विमलाले कांस्य पदकका लागि भएको भिडन्तमा उत्तर कोरियाकी खेलाडी जिबी काङलाई ५-० ले हराउँदै एसियाडमा नेपालको पदकको खडेरी टारेकी थिइन्।
पदक जितेर फर्कंदा विमलाको स्वागत गर्न खेलकुद पदाधिकारीले नै कञ्जुस्याइँ गरेका थिए। तर, विस्तारै पदाधिकारीले गल्ती सच्याएर उनको सम्मान गरेका थिए। विस्तारै उनको मेहनतको कदर भयो।
विमलाको मेहनतलाई प्रधानमन्त्री सुशील कोइरालादेखि एमालेका अध्यक्ष केपी ओलीले समेत मुक्तकण्ठले प्रशंसा गरे। उखानटुक्का हाल्नमा माहिर ओलीले त्यति बेला भनेका थिए, 'नेपालीको मन अड्याउने ठाउँ विमलाले दिएकी छन्। राष्ट्रले छनोट गरेर पठाएका खेलाडी रित्तो हात फर्किएको अवस्थामा राज्यको कुनै पनि लगानीबिना नै पदक जितेर फर्कनु विमलाको मेहनत र इमानदारीको फल हो।
विमलाको मेहनतलाई प्रधानमन्त्री सुशील कोइरालादेखि एमालेका अध्यक्ष केपी ओलीले समेत मुक्तकण्ठले प्रशंसा गरे। उखानटुक्का हाल्नमा माहिर ओलीले त्यति बेला भनेका थिए, 'नेपालीको मन अड्याउने ठाउँ विमलाले दिएकी छन्।
राष्ट्रले छनोट गरेर पठाएका खेलाडी रित्तो हात फर्किएको अवस्थामा राज्यको कुनै पनि लगानीबिना नै पदक जितेर फर्कनु विमलाको मेहनत र इमानदारीको फल हो। अरूले मिलाइदिएको भर्याङ चढ्न सबैले सक्छन् तर भ:याङबिना शिखरमा पुगेर हात हल्लाउनुको मजा बेग्लै हुन्छ।'
हो, उनै विमला अहिले विभागीय टोली त्रिभुवन आर्मी क्लबमा अबद्ध छिन्। पढाइ र खेललाई सँगै अगाडि बढाउँदै आएकी विमलाले आगामी एसियाडमा नेपाललाई स्वर्ण पदक दिलाउने प्रतिबद्धतासमेत गरेकी छन्।
'पहिलो सहभागितामै कांस्य पदक जितेँ। भविष्यमा स्वर्ण पदक जित्ने तयारी गरिरहेको छु', विमलाले भनिन्।