हराएका मोवाईलहरू कसरी फेला पर्न थाले?हेर्नुस
चितवन, १८ फागुन :मोबाइल चोरी बढेसँगै प्रहरीले सक्रियता पनि बढाएपछि यहाँबाट हराएका तथा चोरी भएका मोबाइल फेला पर्न थालेका छन् । महँगो मूल्यका मोबाइल हराएर वा चोरी भएर निराश भएका व्यक्तिहरुमा यसले राहत मिलेको छ । चितवन जिल्लाबाट हराएका तथा चोरी भएका मोबाइल जिल्ला प्रहरी कार्यालय चितवनको सक्रियतामा अहिले धमाधम फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयले पुसमा मात्र करिब १० लाख ३९ हजार ५०० मूल्य बराबरको ३९ वटा मोबाइल फेला पार्न सफल भएको छ ।
हराएको तथा चोरी भएका मोबाइल पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोली सफल भएको हो । मोबाइलको आइएमइआई नम्बरबाट हराएका तथा चोरी भएका मोबाइल फेला पार्न सफल भएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै मोबाइल हराएको दुई दिनमै पनि फेला परेको र कुनैलाई महिनौँ लागेको छ । प्रहरीले हालसम्म फेला पारेको मोबाइल तीनदेखि ८० हजार रुपैयाँ मूल्यसम्मको रहेको कुँवरले बताउनु भयो ।रासस