काठमाण्डौको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलकी दृष्टि गिरी २०७० सालको एसएलसी परीक्षामा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी बन्नु भएको छ । नर्सरी कक्षा देखिनै प्रथम हुँदै आउनु भएकी दृष्टिले ९४ दशमलव १२ प्रतिशत अंक ल्याएर एसएलसीमा पनि सर्वप्रथम हुनु भएको हो । व्यापारी हरि गिरी र शिक्षिका शान्तिमाया गिरिकी छोरी दृष्टिले भविष्यमा डाक्टर बन्ने चाहना राख्नु भएको छ । दृष्टिको भविष्यको चाहना तथा उहाँ कसरी यो सफलताको शिखरमा पुग्नु भयो भन्ने बारेमा असनेपाल न्युजसँग उहाले गर्नु भएको कुराकानीका अंशहरु । एसएलसीमा सबैभन्दा बढी अंक ल्याउनु भएको खुशीका विभोरतामा के गरेर बसिरहनु भएको छ ? खुशी छु,त्यसमाथि आफन्त र साथीभाइहरुले दिनु भएको बधाई सम्मानको ओइरोले भरिएर बसेको छु । आफ्नो संघर्ष र बाबुआमाको माया तथा उत्प्रेरणाले आज एसएलसीमा यो स्थान हासिल गर्न सफल भए । यतिबेला बिशेष गरी सबै शुभ चिन्तकहरु र आफन्तहरुले बधाई दीइरहनु भएको छ । क्याम्पस जाने समय हुँदैछ । त्यसैले म यतिबेला बिन्दास जीवन नै बिताइरहेको छु । के पहिला सोच्नु भएको थियो त एसएलसी उत्कृष्ण हुन्छु भनेर ? यति प्रतिशत सम्म ल्याउछु भनेर त कुनै दुविधा थिएन । तर लाखौं बिद्यार्थीको बीचमा सर्वप्रथम नै हुन्छु भनेर चै सोचेन थिइन । यो सफलताको श्रेय कसलाई दिनु हुन्छ ? सबैभन्दा बढी श्रेय मेरो आमा–बुवालाई जान्छ ,उहाँहरुसँगको राम्रो वातावरण, उहाहरुले दिनु भएको हौसला माया र उत्प्रेरणाले नै आज मैले यो सफलता प्राप्त गरेको हुँ भनेर म ठान्दछु । दोस्रो श्रेय चाँही मेरो बिद्यालय र मलाई पढाउनु हुने शिक्षक शिक्षिका नै हुनुहुन्छ । त्यसपछि मेरो मिहिनेतले पनि हो । यो नतिजामा तपाईं सन्तुष्ट हुनुहुन्छ ? पूर्ण सन्तुष्ट छु । कुनै बिषयमा त मैले सोचेभन्दा बढी अंक आएको छ । अव त विभिन्न कलेजहरुबाट फोन आउने क्रम बढ्दो होला कुन बिषय लिएर कुन कलेजमा पढ्ने योजना बनाउनु भएको छ ? केहि कलेजहरुबाट फोन आएको छ । तर मैले अहिल्यै यो कलेजमा पढ्ने भन्ने योजना बनाइसकेको छैन । भविष्यमा डाक्टर बन्ने मेरो चाहना भएकोले त्यसका लागि राम्रो पढाई हुने र जीवन निर्धारण गर्ने खालको शिक्षा प्रदान गर्ने कलेज छान्दै छु । डाक्टर बन्ने चाहना अबिभावकहरुको इच्छा हो की आफ्नै भित्री इच्छा हो ? मेरो अभिभावक बौद्धिक र शिक्षित भएकोले मेरो इच्छा र चाहना अनुसार नै डाक्टर बन्ने सल्लाह र सुझाव दिनु भएको हो । मेरो भित्री इच्छा बुझेर नै उहाहरुले डाक्टर बन्न प्रेरणा मात्र दिनु भएको हो । तर कुनै कुरामा कर भने लगाउनु हुन्न । कस्तो प्रकारले पढ्नु हुन्थ्यो र कति समय पढाईमा खर्चनु हुन्थ्यो ? ठ्याक्कै दिनमा यति घण्टा पढ्नुपर्छ भन्ने मलाई लाग्दैन । स्कुलमा बाहेक मैलेँ बिहान बेलुका धेरैँ समय मिहिनेत गर्थे । गाह्रो विषयलाई पटक पटक दोहोर्याएर पढ्थेँ । विदाको दिनमा म अरुले झै डुल्ने र खेल्ने गर्दैनथे । त्यो समयमा पनि पढ्थे । मेरो लागि कहिल्यै विदा भएन ।स्कुल भन्दा बाहेक म ६-७ घण्टा अध्ययन गर्थे । फुर्सदको समयमा फेसबुक र ईमेल,इन्रनेटमा पनि अल्झनु भएन ? म फेसबुक पनि चलाउँछु । तर यसको दुरुपायोग गर्दिन । यसलाई राम्रो सँग प्रयोग गर्ने हो भने यो धेरै उपयोगी पनि छ । फेसबुक बाट साथिहरुसँग पढाईका कुरा पनि गरेँ,नयाँ कुराहरु ईन्टरनेटबाट खोजेर आफुले पनि पढ्ने र साथीहलाई पनि सिकाउने गर्थे । कतै नपाएको असल शिक्षा इन्टरनेटबाट पत्ता लगाउथे । तर विना सित्तिका गफ गरेर इन्टरनेटमा समय खेर भने फालिन । अरु विद्यार्थीहरुलाई तपाईं कस्तो तरिकाले पढ्न सल्लाह दिनु हुन्छ ? पढ्न त सबैले पढेकै हुन्छन् ,सबैभन्दा ठुलो कुरा बुझेर पढ्न बानी बसाल्नु पर्छ ,त्यसपछि भनेको कडा मेहेनत पनि आवश्यक छ । आफ्नो भविष्यको लक्ष आफैले निर्धारण गर्नुसक्नुपर्छ । जहिले पनि पढ्दा मैले अंकको लागि भन्दा पनि ज्ञानको लागि पढें । यिनै कुराहरुमा ध्यान दियौँ भने पक्कै सफल भईन्छ जस्तो लाग्छ । बिद्यार्थी जीवन भनेको काँचो माटो जस्तै भएकोले खराब साथी संगतबाट पनि होसियारी हुनुपर्छ । एसएलसी दिने लगभग आधा विद्यार्थीहरु फेल भएका छन् कारण के होला ? यसवर्ष धेरै विद्यार्थी फेलभएका छन् । यो कुरामा मलाई पनि धेरै दुख लागेको छ । सरकारी स्कुलको नतिजा निराशाजनक नै छ । यसबाट लाग्छ नेपालको शिक्षा प्रणालीनै कमजोर छ । जगैदेखि बलियो शिक्षा नदिने तर अन्तिमा घडीमा आएर मात्र पढाईको चाप बढाउने । अझ, शिक्षामा राजनीतिकरण गर्ने प्रवृत्तिले पनि शिक्षा क्षेत्रमा कमजोर बन्दै गईरहेको छ । अब यस्ता कृयाकलापहरु बन्द गरेर अविलम्ब शिक्षा क्षेत्रलाई व्यवहारिक रुपमा शान्ति क्षेत्र घोषना गर्नुपर्ने देखिन्छ ।बिध्यार्थी आँफै पनि मिहनेती र जिज्ञासु हुनुपर्छ । शिक्षा नीतिमा अव कस्तो परिवर्तनको आवश्यकता छ जस्तो लाग्छ ? शिक्षाबिदहरुको विश्लेशण बुझ्दा पूरै शिक्षा नीति बदल्नुपर्ने हुन्छ । नीजी र सरकारी स्कूलहरु विचको खाडल पुर्नुपर्ने देखिन्छ । सबैतिर दक्ष शिक्षक र व्यावहारिक शिक्षा लागु गराउने नीतिको आवश्यकता छ । शिक्षाको नाममा सबैभन्दा बढी रकम निकासी हुन्छ तर पनि रिजल्ट भने खस्कीदैँ गईरहेको छ ,यसबारे सबै सचेत हुन आवश्यक छ । एसएलसीमा फेल भएको कारण निराश बनेर बसेका साथीहरुलाई के सुझाव दिनु हुन्छ ? एसएलसी र्बर्वाद भएर जीवन नै बर्वाद हुन्छ भनेर सोच्नु गलत हो । असफलताका पछाडी पनि कारण हुन्छ हो त्यसलाई पनि पत्ता लगाउनु पर्छ र त्यसलाई समाधान गर्ने तर्फ जानु पर्छ । परिवारिक अवस्था, बिद्यालय, आर्थिक विभिन्न कारणले जीवनमा केहिलेकाहिँ असफल भईन्छ तर हरेस नखान म साथिहरुलाई सुझाव दिन चाहन्छु । पुरक परिक्षा दिन पाउने मौकाको फाईदा उठाउनु पर्छ । त्यसमा फेरि अझै थप मेहेनत गर्नसक्छौँ । कति असफल भएका व्यत्तिहरु पछि गएर निकै सफल भएका उदाहरण पनि छन् । असफलतालाई नै सफलतातर्फको सिँढी बनाएर अघि बढ्नु पर्छ ।एक दिन अवष्य सफल होइन्छ
भविष्यमा डाक्टर बन्ने भित्री चाहना :एसएलसी उत्कृष्ण छात्रा दृष्टि -
Arts,entertainment and News