चीनियां विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा उनको प्रतिनिधिमण्डलले चीन सरकारको सहयोग र लगानीमा भैरहेका कामहरुको जानकारी लिने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताएका छन्।
यो भ्रमणका क्रममा नयाँ सम्झौताको कुनै कार्यक्रम नभए पनि भ्रमण टोलीले देखाउने चासो अनुसार आफूहरुले प्रथामिकता तय गर्ने उनले बताए।
विदेशमन्त्री वाङ यीको यो सदभावना भ्रमण भएको बताइएको छ।
मन्त्री पाण्डेका अनुसार वाङले आफ्नो भ्रमणका क्रममा चीन सरकारले बिगत देखी नै नेपालको विकास निर्माणका काममा गर्दै आएको सहयोगको वर्तमान अवस्थाको जानकारी लिने छन्।
छलफल
उनले भने, "उहाँहरुको नेपालमा उर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, व्यापार जस्ता क्षेत्रमा सहयोगहरु छन् सहयोग भएका विषयहरुमा पनि कुरा उठलान र त्यसमा छलफल गर्छौ।”
मन्त्री वाङले सशस्त्र प्रहरी प्रतिष्ठान निर्माणका लागि सहयोग गर्ने र सीभील अस्पताललाई उपकरण दिने काम गर्ने बताइएको छ।
यो भ्रमणका क्रममा नयाँ सम्झौताको कुनै कार्यक्रम नभए पनि छलफलका आउने विषय वस्तुका लागि आफूहरु तयार रहेको मन्त्री पाण्डेले बताए।
उनले भने "केहि गरि उहाँहरुले हामीलाई सहयोग गर्ने कुरा ल्याउनु भयो भने पहिले उहाँहरुको कुरा बुझेपछि हाम्रो प्राथामिकता तय गरेर यो यो गर्ने भन्ने छौं।”
चीनसँग प्रक्रियामा रहेको लगानी प्रवर्धन तथा सुरक्षाबारेको विप्पा सम्झौताका बारेमा दुईपक्षका बीचमा छलफल भए पनि यही भ्रमणका क्रममा नै सो सम्झौता हुने सम्भावना नरहेको बताइएको छ।
‘पूर्व तयारी’
वाङले राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
वाङको यो भ्रमण कोइराला प्रधानमन्त्री भएयताको उत्तरी छिमेकबाट हुनलागेको उच्चस्तरको पहिलो भ्रमण हो।
कतिपयले विदेशमन्त्री वाङ यीको यो भ्रमणलाई चीनियां राष्ट्रपति सी जीनपीङको नेपाल भ्रमणको पूर्व तयारीका रुपमा लिएका छन्।