सामाजिक सञ्जालले दिएको दुःखका प्रसंग आउँदा अभिनेत्री केकी अधिकारी अहिले पनि झस्किन्छिन्। एकपल्ट उनले आफ्नै नामधारी फेसबुक आईडीमा आफ्नो अश्लील तस्बिर भेटिन्। त्यो अकाउन्ट चलाउनेले अर्कैको अश्लील तस्बिरमा उनको टाउको जोडेर पोस्ट गरिदिएछ। केकी भन्छिन्, ‘त्यसले त मेरो इमेजै बिगारिदियो। कम्प्लेन गरेकी थिएँ, त्यो पेज बन्द गरिसकेछ।' उनले आफ्नो नामबाट मात्र ८० भन्दा बढी नक्कली पेज खोलिएको बताइन्। ती अकाउन्ट चलाउनेले फ्यानसँग नानाभाँती कुरा गरिदिँदा आफूलाई नराम्रो ठान्ने उनको गुनासो छ।
गायिका आस्था राउतलले फेसबुकेहरूको झ्कन्झटबाट मुक्ति पाउनै सकेकी छैनन्। फेक आईडी बनाएर उनीसँग विभिन्न गीतको ट्र्याक माग्ने, नदिए अपशब्द प्रयोग गर्ने गरेको सुनाउँछिन्। भन्छिन्, ‘कतिलाई म्यासेज रिप्लाई गर्न पनि पाइँदैन, सयौँ म्यासेज आइरहेका हुन्छन्। तर, रिप्लाई नपठाएकै कारण कतिपयले फेक आईडी बनाएर बेइज्जत गर्दिन्छु भन्ने जस्ता म्यासेज पठाउँछन्। कति लाजमर्दा शब्दहरू पनि म्यासेजमा लेखिपठाउँछन्।' गीत प्रमोसन गर्न र साथीहरूसँग बोल्नकै लागि पनि केहीले आफ्नो नामको फेक आईडी बनाएर समस्यामा पारेको उनले पाएकी छिन्। दर्जनभन्दा बढी फेक आईडी बनेका छन्, उनका। कतिपयले आफ्नो फेक पेजबाट अश्लीलता झल्कने तस्बिर र भिडियो अपलोड गर्ने गरेको पनि उनी बताउँछिन्। भन्छिन्, ‘अब त फेसबुकै नचलाऊँ जस्तो लाग्न थालिसक्यो।'
अश्लील म्यासेज र फोटो पठाएर हैरान गर्न थालेपछि पूर्व मिस नेपाल माल्भिका सुब्बाले फ्यान पेजबाट म्यासेज बक्स नै हटाउनुपर्यो ।
अभिनेत्री रेखा थापाले फेसबुक अकाउन्ट नखोल्दै उनको फेक आईडी बनिसकेको थियो। लामो समयसम्म उनी यसैको टेन्सनमा रहिन्। तर, अहिले उनलाई त्यस्तो कुनै समस्या परेको रहेनछ। उता छिनछिनमा फोटो अपलोड गरिरहने अभिनेत्री सुषमा कार्कीलाई फेसबुकले नै हनुमानढोकासम्म धाउन बाध्य बनायो। कारण थियो, अभिनेता राजेश हमालले लगनगाँठो कस्दै गर्दा सुषमाको फेसबुक पेजमा सुषमा र राजेशले कुनै फिल्मका लागि दिएका बेडसिनका फोटो आपलोड नियमित भइरहनु। सुषमाको नियन्त्रणमा नरहेको उक्त अकाउन्टमा त्यस्ता तस्बिर अपलोड हुन थालेपछि साथी सर्कलमा उनको आलोचना सुरु भयो। धेरैले भने, ‘राजेशको घरबार बिगार्नका लागि पुराना तस्बिर अपलोड गरिरहेको?' उनलाई तनाव भयो। त्यसपछि त्यसबाट मुक्ति पाउन उनी हनुमानढोकास्थित महानगरीय प्रहरी कार्यालयमै पुगिन्।
केही समयअघि अभिनेता आर्यन सिग्देलले आफ्ना नाममा बनेका दर्जनौँ फेक आईडीले व्यक्तिगत जीवनमा हानि पुर्याहएको दुखेसो पोखेका थिए। आर्यनसँग भेटेका एक फ्यानले फेसबुकमा आर्यनसँग कुरा गरिरहेको बताउँदा उनी चकित भएका थिए। यही झन्झटबाट टाढा रहन अभिनेत्री प्रियंका कार्कीले टाइमलाइनमै लेखिन्, ‘यो पेज म आफैँ चलाउँछु, अरूहरूचाहिँ फेक हुन्।’
Facebook को कारण, रूनु न हाँस्नु...
काठमाडौंं-सामाजिक सञ्जाल यस्तो चौतारी बनेको छ, जहाँ दुःखसुख बिसाउन पाइन्छ। तर, यसका सकारात्मक पक्ष मात्रै छैनन्। भौतिक रूपमा जहाँ पुगे पनि एकअर्काबारे नियमित थाहा पाउने नयाँ माध्यम भएको छ यो। यसले कहिलेकाहीँ दुःख पनि दिन्छ। यसको मारमा धेरै कलाकार परेका छन्।