अनुष्कालाई मन पर्यो कट्रिना
अनुष्कालाई मन पर्यो कट्रिना
पुस १९ -
अनुष्का शर्माको मन पसन्द यति बेला दुई थरी देखिएको छ । एक त, उनी क्रिकेटर विराट कोहलीको प्यारमा चुर्लुम्म डुबेकी छन् । हालै फिल्म 'पीके' बाट समेत वाहवाही बटुलिरहेकी अनुष्का प्रेमी विराटसँग होलिडे ट्रिपमा सँगै देखिन थालेपछि गसिप क्विन नै बनेकी छन् । विराटले पनि टिम इन्डियाको कप्तानी सम्हाल्दै इंग्ल्यान्डमा टेस्ट खेल्न जाँदा अनुष्कालाई पनि साथै लगेपछि केही आलोचित बने पनि त्यसलाई वास्ता गरेनन् । यति बेला अस्टे्रलिया भ्रमणमा रहेको टिमले राम्रो प्रदर्शन नगरिरहेका बेला विराट पुन: सिड्नीमा अनुष्कासँग मस्ती गरिरहेको देखिएको छ । मानौं, उनलाई क्रिकेटमा हारेकोमा कुनै चिन्ता छैन । अनुष्कालाई त झन् हुने कुरै भएन । अनुष्का चर्चामा आउनुको अर्को कारण, प्रतिस्पर्धी नायिका कट्रिना कैफको उनले गरेको तारिफले हो । अनुष्काले हालै कट्रिनालाई आफ्नो मन पसन्द सहअभिनेत्री रहेको टिप्पणी गरेकी छन् । उनीहरू दुवैले फिल्म 'जब तक है जान' मा को-स्टार शाहरूख खानसँगै स्क्रिन सेयर गरेका थिए ।
'अभिनेत्री हुनुको नाताले हामी आफैंमा क्याट फाइट गर्नुको कुनै आवश्यकता छैन,' प्राय: नायिकाबीच हुने भर्वल वारलाई लक्षित गर्दै अनुष्काले भनिन्, 'मैले फिल्म 'क्विन' हेरेपछि पनि कंगना रनावतलाई र 'ककटेल' हेरेपछि दीपिका पादुकोणलाई फोन गरेकी थिएँ । ती फिल्म हेरेर म एकदमै उत्साहित भएकी थिएँ ।' तर यतिबेला भने उनले आफूलाई मनपर्ने नायिकाचाहिँ कट्रिना भएको बताइन् । 'उनी एकदमै असल मान्छे हुन् । कट्रिना कहिल्यै पनि देखावटीमा विश्वास राख्दिनन् । हामी दुईको सम्बन्ध एकदमै राम्रो छ । उनीसँगै काम गर्दा मिठो अनुभव भएको थियो,' त्यसो त फिल्म 'पीके' को सफलताले पनि यति बेला अनुष्कालाई झगडाको मुड नभएको हुनुपर्छ ।
प्रकाशित मिति: २०७१ पुस २० १०:३८