१२ वर्षको अन्तरालपछि नायिका करिश्मा मानन्धरले फेरि फिल्म निर्माण गर्ने -
नायिका करिश्मा मानन्धरले १२ वर्षको अन्तरालपछि फेरि फिल्म निर्माण गर्ने भएकी छिन्। झन्डै डेढ दशकअघि पहिलोपटक ढुकढुकी नामक फिल्म निर्माण गरेर मुनाफा कमाए पनि १२ वर्षअगाडि निर्माण गरेको दोस्रो फिल्म बाबुसाहेबबाट नसोचेको घाटा व्यहोर्नुपरेपछि विरक्तिएर अमेरिकँ गएकी सुन्दरी नायिका करिश्माले फिल्म निर्माण गर्नु सिस्नोको झ्याङमा हात हाल्नुजस्तो भएको वर्तमान अवस्थामा पनि यो आँट गरेकी हुन्।
‘पछिल्लो समयमा नेपाली फिल्म खासै नचले पनि दर्शकका लागि राम्रो फिल्म बनाए चल्छ। त्यसैले मेरो अघिल्ला फिल्मभन्दा गुणस्तरीय बनाउनका लागि १२ वर्षपछि फेरि फिल्म निर्माणमा हात हाल्दैछु, आइतबार राजधानीको दरबारमार्गस्थित पाँचतारो होटलमा आफूले बनाउन लागेको फिल्मको मुहूर्त समारोहमा नायिका करिश्मा मानन्धरले भनिन्– ‘जतिसक्दो गुणस्तरीय र उत्कृष्ट मुभी बनाउने प्रयास गर्नेछु।’ रोचक पक्ष त के छ भने आफूले निर्माण गरेको फिल्ममा आफैं प्रमुख भूमिकामा देखिने कलाकारहरूका बीचमा नायिका करिश्मा भने उनको आफ्नै फिल्ममा मुख्य भूमिकामा हुने छैनन्।
विशेष गरी फिल्म निर्माणमै ध्यान दिने सोचमा रहेकी करिश्माले यसमा आफूले पछाडि बसरे प्रमुख भूमिकामा नवनायिका तथा म्युजिक भिडियो क्षेत्रकी मोडल क्वीन शिल्पा पोखरेललाई अगाडि सार्दै छिन्। ‘फिल्मको कथाअनुसार म यसमा फिट नभएकाले मेन रोलमा छैन’, आफूद्वारा निर्मित अघिल्ला फिल्ममा मुख्य भूमिकामै देखिएकी करिश्माले खुलाइन्– ‘एउटा सानो रोल चाहिँ हुनसक्छ।’नेपालमा रहँदा हरेक फागुपूर्णीमामा कलाकाहरूलाई बोलाएर रमाइलो गर्ने गर्दै आएकी अमेरिकाको ग्रीनकार्ड होल्डर करिश्माले एनएफडीसीसँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्मलाई फागु नाम दिएकी छिन्।
उनको फिल्मको शुभमुहूर्त कार्यक्रममा प्रमुख अतिथि सभासद् तथा महिला अधिकारकर्मी सपना मल्ल प्रधानले नरिवल फोरेर फिल्मको मुहूर्त गरेकी थिइन्। कार्यक्रममा फिल्मका कलाकारहरू नवनायक सुवास पराजुली, शिल्पा पोखरेल, अभिनेत्री गौरी मल्ल, वसन्त भट्टलगायतले मुहूर्त सट दिँदै जीवनमा रङको भूमिका र गरिमाको महत्त्व समेटिएको संवाद प्रस्तुत गरेका थिए। फिल्ममा नायक राजेश हमालले पनि अभिनय गर्ने भएका छन्।
- See more at: http://namastenepalnews.com/n/4717#sthash.XpDGpU2r.sBdsEa7l.dpuf