तपाईंको गीतका शब्द छाडा हुन्छन् भन्ने आरोप लगाइन्छ नि
केमा व्यस्त हुनुहुन्छ ?
करिब एक वर्षको तयारी पछि छैटौं एकल एल्बम 'पिरतीमा दम छ' यसै साता श्रोतामाझ ल्याएकी छु। अहिले यसकै प्रमोसनका साथै सांगीतिक कार्यक्रमहरूमा पनि व्यस्त छु।
'पिरतीमा दम छ’ एल्बममा कस्ता गीत छन् ?
लोक भाकाको गीत फ्युजन गरेर गाउने प्रयास गरेकी छु। शीर्षक गीत 'पिरतीमा दम छ...' नृत्यपरक गीत हो। गीत सुन्ने श्रोतालाई नाचौं-नाचौं बनाउने मेरो उद्देश्य हो। एल्बमको दोस्रो गीत 'जिम्वाल बाउकी छोरी...' पनि मनोरञ्जक छ।
म्युजिक भिडियोको चर्चा चुलिएको छ नि ?
'पिरतीमा दम छ...' गीतको म्युजिक भिडियोमा पनि हामीले प्रशस्त मेहनत गरेका छौं। भिडियोमा गीतको भावनाअनुसार विषयवस्तु समावेश गरेका छौं। म आफैंले अभिनय तथा नृत्यसमेत गरेकाले श्राेताहरूले थप मनोरञ्जक मान्न सक्नुहुन्छ।
हालसम्म कतिवटा एल्बम तयार पारिसक्नुभयो ?
'पिरतीमा दम छ' अघि मैले 'मन किन टाढा भयो', 'मायासँग', 'उही मुलाको सिन्की', 'चौबन्दी चट्टै' तथा 'जिम्वाल बाउकी छोरी' शीर्षकका एल्बम बजारमा ल्याइसकेकी छु।
कन्सर्टमा कुन-कुन गीत गाउनुहुन्छ ?
स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा म प्राय: नृत्यपरक गीत प्रस्तुत गर्छु। उही मुलाको सिन्की उही मुलाको चाना, सुर्खेत बुल्बुले जाउँला, जिम्वाल बाउकी छोरी, मायासँग के भनी बोल्नी हो जस्ता गीत गाउँछु।
तपाईंको गीतका शब्द अलि छाडा हुन्छन् भन्ने आरोप लगाइन्छ नि ?
लोक गीत-संगीतमा आधुनिक गीत संगीतको जस्तो शब्द समावेश गर्न सकिँदैन। श्रोता तथा दर्शकको चाहना पूरा गर्न पनि त्यस्ता शब्द समावेश गर्नु हाम्रो बाध्यता हो।
अबको योजना के छ ?
तीजका लागि एउटा पुरानो लोकगीतलाई रिमेक गरेकी छु। पश्चिम नेपालको लोकप्रिय गीत 'रापतीपारि दिनुभयो बाबाले...' यसपटक श्रोतालाई मेरो तीजको कोसेली हुनेछ। आगामी साता यो गीतको भिडियो निर्माण गर्ने कार्यक्रम छ।
- साप्ताहिक