संगीत नसुन्ने मान्छे त कठोर हुन्छ-केकी अधिकारी, अभिनेत्री

संगीत नसुन्ने मान्छे त कठोर हुन्छ

kaki adhikari

केकी अधिकारी, अभिनेत्री
तपाईंको परिभाषामा संगीत के हो ?
संगीत यस्तो भाषा हो, जसले मन–मनको संवाद गराउन सक्छ । त्यसैले यसको भाषा हुँदैन भनिन्छ । हामीले जीवन कसरी बाँचिरहेका हुन्छौँ, त्यसलाई संगीतले अभिव्यक्त गरिरहेको हुन्छ ।
तपाईंले पहिलोचोटि सुनेको र मन पराएको गीत ?
सानैदेखि गीत सुनिन्थ्यो । घरमा फिल्मी वातावरण भएकाले पनि गीत बजिरहन्थ्यो । त्यस्ता गीतमा नृत्य गरिन्थ्यो । तर, मैले त्यसवेला मन पराएको गीतचाहिँ बच्चु कैलाशको ‘तिमीले त होइन तिमीले तिम्रा भाकाहरूले…’ हो ।
बाल्यकालमा कस्ता गीत मन पर्थे ?
त्यसवेला डान्सिङ नम्बरका फिल्मी गीत मन पर्थे ।
तपाईंलाई अहिलेसम्म सबैभन्दा बढी मन परेको गीत ?
धेरै छन् । विशेष गरी आफ्ना फिल्मका गीत मन परेका छन् । अञ्जु पन्तले गाएको ‘जिन्दगी यो फूलैफूलको थुंगो हुँदैन’ भन्ने गीतले चाहिँ निकै छोएको छ ।
तपाईंको मन पर्ने गायक र गायिका ? पुराना पुस्ता र नयाँ पुस्ताका ?
पुरानामा अरुणा लामा, तारादेवी, नारायणगोपाल, सुकमित गुरुङ, देविका बन्दनालगायत मन पर्छ । नयाँ पुस्तामा अञ्जु पन्त, मिलन अमात्य, रजिना रिमाल, इन्दिरा जोशीलगायतका गीत मन पर्छ । सुगम पोखरेलका गीतको त म फ्यान नै हो । सबैका गीत सुनिरहेकी हुन्छु । त्यसैले धेरैजना मन पर्छन् । सबैको नाम लिएर साध्य नै हुँदैन ।
  
विदेशी संगीत कत्तिको सुन्नुहुन्छ ? मन पर्ने विदेशी गायक–गायिका ?
हिन्दी र अंग्रेजी गीत सुनिन्छ । हिन्दीमा अभिजितको गीत मन पर्छ । उदितनारायणको पनि असाध्यै मन पर्छ । एआर रहमानका गीत पनि उत्तिकै राम्रा लाग्छन् । अंग्रेजीमा रिहानाको स्वर मन पर्छ । त्यस्तै सानिया ट्वेनको गीत पनि राम्रो लाग्छ।
नयाँ पुस्ताले गाएका गीतहरू कस्ता लाग्छन् ?
पहिलेका गीत चिरस्थायी हुने खालका हुन्छन् । अहिलेका तत्काल हिट त हुन्छन्, तर पछिसम्म मनमा भने बस्न सकेको देखिँदैन । शब्दमा ध्यान नदिएका कारणले यस्तो भएको लाग्छ । शब्दमा गम्भीरभन्दा पनि हल्का अर्थ दिने बढी छन् । यसले आयु छोटो हुने गीत धेरै छन् ।
मोबाइलमा कत्तिको गीत राख्नुहुन्छ ?
मोबाइलमा भने खासै गीत राख्दिनँ । ल्यापटपमा चाहिँ राम्रो कलेक्सन छ ।
सिआरबिटी–पिआरबिटी राख्नुभएको छ कि छैन ?
छैन ।
फिल्ममा संगीतको कत्तिको महत्त्व हुन्छ ?
एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । नेपाली मात्रै होइन, बलिउडमा पनि संगीतको भूमिका फिल्म चलाउनका लागि पनि उत्तिकै हुन्छ । गीतकै कारण हलसम्म पुग्ने दर्शक धेरै हुन्छन् । म आफैँलाई पनि फिल्मको संगीतले धेरै प्रभाव पार्छ ।
आफूले अभिनय गर्ने फिल्मको प्रयोग हुने गीत–संगीतबारे कत्तिको चासो राख्नुहुन्छ ?
ध्यान दिन्छु । स्क्रिप्ट र आफ्नो क्यारेक्टर मन पर्‍यो भने त्यसपछिको गीत–संगीत कस्तो छ भन्नेमै ध्यान दिन्छु । गीत सबैलाई छुने हुनुपर्छ भन्नेमा जोड दिन्छु । केही गीत क्याची हुनुपर्छ भने केहीचाहिँ जति पछि सुन्यो त्यति राम्रो लाग्ने खालका हुनु आवश्यक छ ।
गीत कत्तिको गुन्गुनाउनुहुन्छ ?
घरमा एक्लै भएको वेला गुन्गुनाइरहेकी हुन्छु ।
तपाईंलाई आफ्नो स्वर कस्तो लाग्छ ?
मेरो स्वरचाहिँ गाउनका लागि उपयुक्त छैन । गुन्गुनाउनसम्मका लागिचाहिँ ठिकै छ ।
स्कुल पढ्दा पनि गाउनुभएन ?
त्यस्तो प्रतियोगितामा नै त गाइनँ । तर, समूहमा गाएकी छु ।
गायनतिर पनि लाग्छु भन्ने लागेन कहिल्यै ?
अहँ । आ–आफ्नो विशेष क्षमता हुन्छ । त्यसमा ध्यान दिनुपर्छ भन्ने लाग्छ । हुन त कति व्यक्ति बहुमुखी प्रतिभाका धनी पनि हुन्छन् । तर, मचाहिँ त्यस्ती परिनँ ।
वाद्यवादनचाहिँ कत्तिको आउँछ ?
मलाई वाद्यवादन गर्न निकै मन पर्छ । त्यसैले डोरेमी संगीत पाठशालामा गीतार सिकेँ । अब किबोर्ड सिक्न मन लागेको छ ।
संगीतलाई जीवनबाट अलग गर्दा के फरक पर्दो हो ?
यसलाई अलग गर्न सकिँदैन । किनभने, हरेक मुडमा संगीतको सहारा लिने बानी परिसक्यो । संगीत नसुन्ने मान्छे त मनैबाट कठोर बन्छ जस्तो लाग्छ ।
कुन समय गीत सुन्न रुचाउनुहुन्छ ?
बेलुका घर फर्केपछि फ्रेस भएर संगीत सुन्छु । यात्राका वेला संगीत सुन्दा आनन्द आउँछ । पढ्दाचाहिँ सुन्दिनँ, कलेजको प्रोजेक्ट र थेसिस गर्दा पनि संगीत सुनिरहेकी हुन्छु ।
गीत राम्रो हुन के–के आवश्यक पर्छन् ?
संगीत राम्रो हुनुपर्छ । त्यसले मनलाई स्पर्श गर्छ । त्यस्तै शब्द पनि उत्तिकै राम्रो हुनुपर्छ । स्वरले पनि त्यस्तै साथ दिनुपर्छ ।
गीत सुनेर मानिसले आत्महत्या गरेको कुरामा तपाईंलाई विश्वास छ ?
गीतले मानिसलाई स्वाभाविक रूपमा असर गर्छ । त्यसले मानिसको मनोदशालाई परिवर्तन गर्छ नै । यसले मानिसलाई आनन्द दिन सक्छ र रुवाउन पनि सक्छ । कुनै गीतमा आफ्नो भावनालाई समेटिएको छ भने त्यो आफ्नै लागि बनेको गीतजस्तो लाग्छ । त्यसैले त्यस्तो प्रभाव पर्छ भन्ने कुरामा मलाई चाहिँ विश्वास छ ।
तपाईंलाई साथीभाइ वा पारिवारिक जमघटमा गीत गाउन कत्तिको अफर गर्छन् ? पछिल्लोपटक कहाँ गाउनुभएको थियो ?
गाउने मान्छे नभएका कारण खासै त्यस्तो त आउँदैन । तर, कहिलेकाहीँ चाहिँ हुन्छ । पछिल्लो समय कलेजको अनौपचारिक कार्यक्रममा गाएकी थिएँ ।
राष्ट्रिय गीत कत्तिको सुन्नुहुन्छ ?
निकै सुन्छु । त्यसले देशप्रेमको भावनालाई बलियो बनाउँछ ।
सबै नेपालीले सुन्नैपर्ने राष्ट्रिय गीत कुन हो  ?
‘जहाँ छन् बुद्धका आँखा’ सबैले सुन्नुपर्ने राष्ट्रिय गीत हो जस्तो लाग्छ ।  ।
लोकगीतचाहिँ कत्तिको सुन्नुहुन्छ ?
लोकगीत पनि मलाई निकै मन पर्छ । पूर्व र पश्चिम दुवैतिरका भाकाले मन छुन्छ । बद्री पंगेनी, पशुपति शर्मा, बिमाकुमारी दुरालगायतको स्वर पनि निकै मन पर्छ ।
कस्ता लाग्छन् अहिलेका लोकगीत ?
लोकगीतले नै वास्तवमा हामीलाई चिनाउने हो । हाम्रो कुनाकन्दरालाई परिचित गराउने र हाम्रा मौलिक बाजागाजाको स्वर सुन्न पाउने यसैमा हो । सबै गीतले लोकगीतको मर्म उतारेका छैनन् । तर, राम्रा गीत पनि आएका छन् । पशुपति शर्माका गीतले अझ सामाजिक विषयलाई पनि उठाएका छन् । त्यस्ता गीतले समाजलाई सम्बोधन गर्छ, त्यसैले मन छुन्छन् ।
नेपाली गीत–संगीतलाई अझ माथि उठाउन के गर्नुपर्छ भन्ने लाग्छ ?
पहिलेको तुलनामा राम्रो त भइरहेको छ । तर पनि, हामी अझै संवेदनशील हुनु आवश्यक छ । अहिले गीतका शब्दमा ध्यान दिएको देखिँदैन । त्यसैले अर्थपूर्ण गीत लेख्न आवश्यक छ । गीतलेखन सामान्य कार्य होइन, गहन कार्य हो । त्यसैले जसले पनि गीत लेख्ने काम हुनुहुँदैन । गायनमा पनि त्यही हो, जो पनि गायक बन्ने हुँदा गुणस्तर हुँदैन । प्रविधिलाई पनि अलि उन्नत बनाउनुपर्छ ।
कविता त लेख्नुहुन्छ, गीत लेख्ने सम्भावनाचाहिँ कत्तिको छ ?
सम्भावना नै नभएको त होइन । तर, अहिलेसम्मचाहिँ लेखेकी छैन ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News