उदास बसन्तको कथा : ARUNA LAMA

प्रकाश सायमी  - गायिका अरुणा लामाको गायनको जीवनकाललाई संगीतका अन्वेषकहरू, नेपाली संगीतको स्वर्णिम युग भन्छन् तर यो संयोगवश होइन र काल्पनिकी पनि होइन ।
संयोग त यसकारण हुन पुग्यो कि अरुणा लामाले भारतको कोलकत्तामा गएर आफ्ना गुरु अम्बर गुरुङसित युगल गायनमा ‘बाँध मायाले बाँध न’ गीत पाएपछि अरुणा एक्कासि नेपाली स्रोता समाजमा प्रामाणिक स्वर  बन्न पुगिन् ।
गीति गायनका हिसाबले अरुणा लामाले भारतको पहाडी राज्य दार्जीलिङमा आफ्ना समकालीन कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, रञ्जीत गजमेर, दिलमाया खातिले गायनको धागो उन्न सुरु गर्दा नेपालबाट प्रेमध्वज माणिकरत्न, नारायणगोपाल, नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, कोइलीदेवी माथेमा, नूरा देवी अधिकारीको गायनको जग बसिसकेको थियो ।
नेपालको रेडियोबाट नारायणगोपाल र तारादेवीको युगल स्वरमा ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’ गुञ्जिँदा पार्वत्य शृङ्खला दार्जीलिङबाट अरुणा लामाका एक्कासि दुई गीत कान्छालाई सम्बोधन गर्दै गुञ्जिए,  ए कान्छा मलाई सुनको तारा खसाई देउ न, अम्बर गुरुङ को संगीतमा रुद्रमणी  गुरुङसितै गाइएको र उनका पति शरण प्रधानको शब्द र संगीतमा हेर न हेर कान्छा जीतेन्द्र बर्देवा सित गाइएको । यी दुवै गीतले अरुणा लामालाई नेपाली जनस्थानमा लोकप्रियता दियो तर कान्छा र कान्छीको गीतमा अल्झिने अरुणाको स्वभाव थिएन । विस्तारै दार्जीलिङमा स्थापित सङ्गम समूहमा आवद्ध भए,  सङ्गममा यिनका साथ भए, प्रतिभाशाली गीतकार एवम् संगीतकार शरण प्रधान र संगीतकार रञ्जित गजमेर अनि गीतकार जीतेन्द्र बर्देवा ।
सङ्गममा हुँदै अरुणाले नेपाली जनजीवनका भित्री तहसँग सम्बन्धित काल र कोणका नयाँ कोलाजमा नवनीत गीत गाइन्,  जुन गीतले सङ्गमका संगीतकारद्वय शरण रञ्जीत लाई नयाँ उँचाई र पहिचान दियो भने प्रतिस्पर्धाको नयाँ ढोका पनि खोलिदियो । अरुणाले शरणका शब्दमा नेपाली गौरव गर्छ आफ्नैपनमा, मान्छे सबै एउटै रगतको विचार किन बेग्ला बेग्लै, म आँखैमा राखिन योग्य कहाँ छु, मेरो दुश्मनै हाँसोस्, शीतल पवनले बगाई ल्यायो, यो जोवनलाई  सलाम, मलाई आँखैमा राख्नु पर्दैन जस्ता गीत गाए ।
मेण्डोलिन बाजाका ज्ञाता शरण प्रधान र मादलका विज्ञ रञ्जीत गजमेरले अरुणाका निम्ति एकसेएक गीत धुनबद्ध गरे भने पुष्प नेपाली, मणिकमल क्षेत्री आदि सित गाउने युगल गीतको नयाँ धार बनाए ।
त्यतिवेला दार्जीलिङमा सङ्गम को मात्र हैकम थिएन, सङ्गम प्रतिस्पर्धामा थियो हिमालयन म्युजिकल ग्रुपसित । त्यसमा थिए उस्तै होनहार संगीतकारद्वय कर्म योञ्जन र गोपाल योञ्जन ती दुवैका साथ थिए, गीतकार नगेन्द्र थापा ।
दार्जीलिङमा हुने यस्तै प्रतिस्पर्धामा एउटा ऐतिहासिक घटना बन्न पुग्यो, अरुणाको एउटा कालजयी गीत : यहाँ फूल नखिलेछ बहार आउन नै भुलेछ ।
विक्रमाब्द बीसको दशकमा हुने एक साङ्गीतिक प्रतियोगितामा हिमालयन म्युजिकल ग्रुपबाट दिलमाया खाति पनि सहभागी हुने भन्ने सुनेपछि संगीतकारद्वय शरण र रञ्जीतले गीतकार जीतेन्द्र बर्देवालाई लोयड् बगैँचाभित्र थुनेर त्यही दिन तत्स्थानमा गीत लेख्न लगाए र त्यही गीत त्यहीँ धुनवद्ध गरेर अरुणा लामाले प्रतिस्पर्धामा गाइन् ।
परिणाम आयो, दिलमाया सावन फेरि फर्की आयो का निम्ति  प्रथम । अरुणा यहाँ फूल नखिलेछका निम्ति  प्रथम । दुवै प्रथम गायिकालाई दार्जीलिङवासीले बजार भरि सम्मानपूर्वक घुमाए । यही गीतले अरुणाको जीवनमा फूल पनि फुल्यो र बहार पनि आयो । शरण र अरुणा एक भए, सन् १९६४ मा ।
वैवाहिक जीवनपछि अरुणाले दिलमायाका विरुद्ध होइन आफ्ना पतिको  संगीतका कारण आफूले गाउने भन्दा फरक शैलीका गीत गाउन थाले । उनको शैली छिट्टै नेपाली जीवनशैलीमा नयाँ विशिष्टता लिएर आयो ।
संगमबाट शरणसित सुरु भएको उनको यात्रा करीब ११ वर्ष चानचुनमा सकियो, प्रतिभाशाली पति शरणको देहान्त पछि अरुणाले चाहे जस्तो जीवन त पाइनन् तर चाहे जस्तो गीत पनि गाउन पाइनन् । उनले भाग्यलाई अर्को भाग लगाए, अब उनी दुःख, विरह र विषाद्का गीतका निम्ति नायिका भइन् । रुसोेले भने झैँ जीवनलाई हामीले चुन्ने होइन, जीवनले हामीलाई चुन्ने हो, साँच्चै जीवनले अरुणालाई दुई नाबालक सपना र सुप्रीतका साथ अब एक्लोपन, भाग्यको रेखा, कर्मको खेल, अधुरो र अपुरो सपनाका गीति गेडामा मात्र छोडेर गए ।
एक्कासि नेपाली संगीत जगत्मा सबैले अरुणाको जीवनलाई हेरेर गीत लेख्न थाले, एक्कासि सबै संगीतकारले अरुणा लामाको स्वरगाथासित सुहाउँदो पीडान्त संगीत सार्न थाले । यो नेपाली समाजमा अचानक भएको घटना होइन, यसकिसिमको एउटा सिक्वेल पहिले पनि तारादेवीको आगमनको वेला भइसकेको थियो, तारादेवीको गायनको ऊर्जाकालमा धेरै गीतकारले तारालाई सम्बोधन गरेर गीत लेखे, यादव खरेल, किरण खरेल, डा राममान तृषित अनि रत्नमानले । एउटा तारा झर्दा आकाश नै रित्तो हुन्छ देखि तारा मात्र होइन तिमीलाई जून पनि दाइजो दिइदिउँला .. केही उदाहरण हुन् ।
पतिको वियोग पछि अरुणा लामाको जीवनको एकाकीमा आँसु नै आँसुका गीत लेखिए, अम्बर गुरुङको सबैले भन्थे लयालु फूल भई, तरुणीको रात सँधै रोइरहन्छ, पोहोर साल खुशी फाट्यो  देखि गोपाल योञ्जनको चौतारीमा बसेर रुन पाऊँ, अनि गणेश परियार र रत्नमान खड्गीको एक्लै बस्दा सँधै मलाई, भाग्यले खुशी खोसेर लग्यो बदला लिएर, बालापनको आँगन त्यागेर जानु पर्यो पराईको घरको नौलो संघार ।
गोपाल योञ्जनको संगीत र शब्दमा नारायणगोपालसित जीवनको हरेक मोडमा तिमीले मलाई खोज जस्तो स्वच्छन्दवादी गीत गाएकी अरुणा लामाको निम्ति तीसको दशक सेकेन्ड इनिँग त भयो तर आँसु नै आँसुले भरिएको क्यान्भास जस्तो । पहिले कि चञ्चल अरुणा लामा अब आफ्नै गायन शैलीको विरुद्धमा देखा परिन्, शब्दको छनौट अनि संगीतको शैलीमा । अनि उनी चिनिन् नारायणगोपालकै संगीत अनि भैरवनाथ रिमाल कदम को शब्दमा उदास मेरो जीवन कथा कसैलाई भनिनँ .. यो जन्मभरि सहेको व्यथा कसैलाई भनिनँ ।
नेपाली सुगमसंगीतकी एक दीपाधार अरुणा शोक गायिका भएर देखा परिन् । यसैवेला उनले भानु पत्रिकाका भवानी घिमिरेलाई अन्तर्वार्ता दिने क्रममा  भनेकी थिइन्, गाउने कला गलामा होइन, मुटूमा सिउरिएको हुन्छ ।
सम्भवतः अरुणाको यो ठम्याई सही सावित भयो । अरुणा ओठ र गलाले भन्दा पीडाले भरिएको मुटुको उच्छ्वासले गाउन थालिन्, स्रोता समाजले दोस्रो पटक उनलाई यही पीडा अवतारमा स्वीकारे ।
नेपाली सुगम संगीतमा अरुणाले धेरै फरक शब्द र स्वाद्का गीत छान्नै पाइनन्, उनलाई त्यही गीत त्यही शब्द र त्यही भावभूमिले पछ्याउँदै लग्यो । शरण प्रधानको देहान्त पछि उनको समूह संगमको पनि एककिसिमले दुर्दान्त भयो, नाम सम्म रहने गरी सबै छुट्टिए । रञ्जीतले मुम्बईको बाटो तताए भने अरुणाले नयाँ साथीसमूहमा मिस्सिन वाध्य भइन्  ।
अरुणाले यसपछि गोपाल योञ्जन, शान्ति ठटाल, मणिकमल क्षेत्री, दिव्य खालिङ, दीपक जङ्गम आदिसित सांगीतिक सहकार्य सुरु गरिन्  ।
चलचित्रका निम्ति उनले परालको आगोमा शान्ति ठटालको  निम्ति उडी जाऊँ भने म पक्षी होइन, कान्छी चलचित्रको निम्ति यी ओंठ तिम्रा, हिमालसरि म आइरहेछु,  कलकल सलसल निर्मल निश्चल बोली, मायाप्रीतिको निम्ति पाखा पर्वतले गुञ्जाइ रहुन् जस्ता गीत मार्फत् आफ्नो छुट्टै पहिचान बनाइन्, जुन अरुणाको भाव र स्वभावसित मिल्दो थियो ।
अरुणा लामाले गायनमा फरक शैली भएका युवा पुस्ताका प्रतिनिधि कलाकारसित पनि आफूलाई सम्याउँदै लगे, सहयोग र स्नेह राख्दै लगे । यसको एउटा उदाहरण यो पनि मान्न सकिन्छ, छुजाङ डुक्पाको असारे महिनामा पानी पर्यो रुझाउने गीतका निम्ति अरुणाले कोरसमा साथ दिइन् भने गायिका मीरा राणाको गीत यो मायालाई भार ठान पैतालाको धूलो मान मा सहगायनमा पनि साथ दिइन् ।
नेपालमा रंगमञ्चको व्यावसायिकरण भर्खर सुरु भएको वेला अड ग्रुप नामक् नाट्य संस्थाले सुमन खरेल लिखित नाटक आघात का निम्ति अरुणा लामालाई दार्जीलिङबाट बोलाएर गीत रेकर्ड गराएको थियो, यही गीतका कारण उनको नेपाल पुनरागमन सुरु भएको मान्न सकिन्छ ।
सफल असफल वा स्वीकार अस्वीकार जुनसुकै स्थितिमा पनि अरुणा लामाको सहायतार्थ संगीतकार अम्बर गुरुङ, गायक नारायणगोपाल मिलेर अरुणा लामा सहयोग साँझ गरेको थियो । प्राविधिक कारणले त्यो कार्यक्रम आर्थिक रुपले असफल सावित भयो भने त्यसपछि उनकै एकल साँझ जब माटो बोल्छ नामले पनि आयोजना गरियो । पछि स्वयम् नारायणगोपालले आफू सांस्कृतिक संस्थानको महाप्रवन्धकको हुँदा स्मृति कोसेली हाम्रा गीतहरु आयोजना गरे । यी सबै कार्यक्रम अरुणा लामाका लागि कमाईका  दृष्टिले भन्दा पहिचानका दृष्टिले लाभदायक हुन पुगे ।
अरुणा लामाको गीतले कैँयौ जीवनमा खुशी, हर्ष, विस्मात् वा परिवर्तन ल्याए हुनन् तर अरुणा लामाको गायनले उनलाई धेरै परिवर्तन दिन सकेन । तर फरक के सम्म हुन सक्यो भने उनी पहिलो पटक नेपाली चलचित्र माइतीघर को निम्ति गीत गाउन संगीतकार जयदेव सित मुम्बई जाँदा जुन उत्साहले गएकी थिइन् जीवनको अन्तिम कालमा उनी साइत नामक् सिनेमाको निम्ति आफ्नै सहकर्मी रञ्जीत गजमेरसित गीत गाउन जाँँदा खालि हात फर्केकी थिइन् । भनिन्छ, अरुणाको लामाको यो अर्को गीत थियो आँसुले लेखिएको ।  तर फरक यति मात्र भयो  त्यो रेकर्ड भएन ।
आफ्ना स्वजनका आँसुले लेखिएका गीत गाउने अरुणा लामाले कवि भूपी शेरचनको पहिलो रेकर्ड गीतमा यसै भनेकी छिन्,
यहाँ यौवन उदास उदास छ यहाँ
यहाँ बसन्त निराश निराश छ यहाँ
२०३१ को वैशाख २० पछि उनको जीवनमा उदास बसन्तको कथा लम्बिँदै गएको छ तर भाग्यलाई उनले आफैं बदल्दै गएकी पनि छिन् । देन रुदियारले भने झैँ, हरेक मान्छे दुईटा भाग्य लिएर जन्मेको हुन्छ, भाग्य र अभाग्य । हामी कमसेकम अभाग्यलाई भाग्य बनाउने कोशिश गरौँ ।
आज कुनै नेपालीले आफूलाई आपत् पर्दा, दुःख पर्दा अरुणा लामाका उदास गीत गर्वले गाउँछन् कमसेकम दुःख पनि गाउन लायक बनाएर गएकी छिन्, अरुणा लामाले ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News