शक्ति प्रर्दशन पछि प्रचण्डले भने ‘बरु मर्छु, तर झुक्दिन’
एमालेसँग आक्रामक रुपमा प्रस्तुत भयो मोर्चा, शनिबार खुलामञ्चमा कस्ले के भने ? विस्तृतमा पढ्नुहोस्
मिडिया एनपी, काठमाडौं । शनिबारको शक्ति प्रर्दशन सत्तासाझेदार काँग्रेस एमालेलाई एउटा सबक हुने बताउँदै आएका विपक्षी मोर्चाका नेताहरुले आफ्नो पुरानो अडान कायमै राखेका छन् । देशभरबाट काठमाडौँ ल्याइएका कार्यकर्ताका बिच भरीभराउ काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको सभामा मोर्चाका नेताहरुले परिवर्तनको एजेन्डालाई सम्बोधन गर्ने गरी जन आकांक्षाअनुरुपको संविधान बनाउन दबाब दिँदै कांग्रेस–एमालेलाई यो सुरुवाती चरण मात्रै भएकाले सजग रहन समेत चुनौती दिएका छन् ।
सभालाई सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वार्ता र सहमति वा द्धन्द्ध मध्ये के रोज्ने भन्ने अप्सन कांग्रेस–एमालेको कोर्टमा रहेको बताए । आक्रमक रुपमा प्रस्तुत भएका प्रचण्डले आफू मर्न तयार भएपनि झुक्न तयार नरहेको जिकिर गरे । बन्नै लागेको सहमति सत्तासाझेदारका कारण भाँडीएको दाहालको निष्कर्ष थियो । एमालेप्रति निकै आक्रामक ढंगले प्रस्तुत भएका दाहालले एमाले आफ्ना सबै एजेन्डा छोडेर कांग्रेससंँग टाँसिन पुगेको भन्दै अब एमाले छुछट्टै पार्टी हुनुभन्दा काँग्रेसमा गएर बिलय भए राम्रो हुने सुझाव दिए ।
त्यस्तै अर्का बरिष्ठ नेता बाबुराम भट्राइले शनिबारको प्रर्दशन सत्तासाझेदारका लागी एउटा ट्रेलर मात्रै भएको र यसैबाट सरकार तर्सिएको बताए । उनले भने ट्रेलर आउँदा मात्रै सरकार झस्किएको छ पुरा फिल्म नै आएपछि बेहोस् हुनुको विकल्प छैन । त्यसैले बेलैमा सोचेर सजग हुन आग्रह गर्दै जनताको संविधान दिनमा काँग्रेस एमाले बाधक बने अन्तिम लडाई लड्ने उनले चेतावनी दिए । सो अवसरमा बाबुरामले ‘बाघ दुब्लाए पनि र बुढो भएपनि कमजोर नहुने तर्क राखेका थिए ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले पहिचानसहितको संघीयताको ग्यारेन्टी नहुँदासम्म कांग्रेस–एमालेसँग वार्ता नहुने स्पष्ट पारे ।
सभालाई सम्बोधन गर्दै मोर्चाका अन्य नेताहरुले आफूहरु वार्ताबाटै जारी राजनीतिक गतिरोधको निकास खोज्न तयार रहेको बताएका थिए ।
सभालाई सम्बोधन गर्दै मोर्चाका अन्य नेताहरुले आफूहरु वार्ताबाटै जारी राजनीतिक गतिरोधको निकास खोज्न तयार रहेको बताएका थिए ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारले अघिल्लो संविधानसभामा दुइ तिहाइ सहित आदीवासी जनजातिको समर्थन रहेको आफ्नो पक्षमा संविधान बन्ने अवस्था हुदा सहमतिको लागि प्रकृया सुरु नगरेको तर अहिले सत्तारुढ दलहरुले धोका दिएको बताए । उनले प्रदेश, संघीयता, पहिचान स्वीकार गरे मात्रै वार्ता हुने बताए ।
सभा सुरु हुनु पुर्व नयाँ बानेश्वरमा एकीकृत नेकपा माओवादीको र्यालीलाई प्रहरीले रोकेपछि झडप भएको थियो । प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गरेपछि एक दर्जन आन्दोलन घाइते भएका छन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अगुवाइ गरेको जुलुसलाई मोटरसाइकलले स्कटिङ गरेको थियो ।
यसअघि राजधानीका विभिन्न स्थानबाट निस्केको जुलुस खुलामञ्चमा पुगेको थियो । माइतीघर, चाबहिल, बालाजु, कालिमाटी, लगनखेल, स्वयम्भु, बसन्तपुर, त्रिपुरेश्वर र बबरमहलबाट निस्केको जुलुस खुलामञ्च पुगेर सभामा परिणत भएको थियो ।