नारायणी नदीको धेरै ठाउँमा देखिन थाले डल्फिन
ओएस नेपाल, चितवन, १९ माघ । कुनै बेला नारायणी नदीको धेरै ठाउँमा डल्फिन देख्न सकिन्थ्यो । पछिल्लो समय लोपजस्तै भएको यो जलचर फेरि देखा पर्दा संरक्षणकर्मीहरु उत्साहित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले गत वर्ष र यो वर्षको हिउँदमा भएको अनुगमनका क्रममा नारायणी नदीको भेलौलीमा एक जोडी डल्फिन फेला परेको जानकारी दिए । नारायणी नदीको पश्चिमी क्षेत्र भेलौली त्रिवेणी र बहुवनको बीचमा पर्छ । ‘यो क्षेत्रबाट गाउँ पुग्न दुई अढाई घण्टा लाग्छ । नारायणी नदीको सफा जलासय छ, त्यसैले डल्फिन देख्न सकिएको हो’ सहायक संरक्षण अधिकृत खड्काले भने । मान्छेको चाप, होहल्ला, प्रदुषण र माछा मार्ने चलनले डल्फिन लोप हुने अवस्थामा पुगेको उनले बताए । ‘अवस्थामा केही सुधार भएका कारण हामीले भेलौलीमा गत वर्ष दुईवटा डल्फिन देख्यौं । यो पटक पनि दुईवटा नै देखेका छौँ’ खड्काले भने । नारायणी क्षेत्रमा उद्योगहरुको प्रदूषण, माछा मार्ने क्रम बढ्नु र माछा मार्न ठूलो खालको तयारी जाल प्रयोग हुँदा डल्फिन लोप हुने अवस्थामा पुगेको खड्काले बताए । ‘तियारी जालमा डल्फिन परेर मर्ने गर्छ । त्यसैले तियारी जाललाई हामीले बन्देज लगाए पनि लुकीछिपी प्रयोग हुँदै आएको थियो । त्यसको प्रयोग निर्मुल गर्न केही वर्षयता कडाइ गरेका थियौँ । त्यसैले पनि होला डल्फिन देखा परेको’ खड्काले भने । विसं. २०४० सालसम्म नारायणी नदीमा प्रशस्त डल्फिन पाइन्थ्यो । गोलाघाटलगायतका क्षेत्रमा डल्फिन देखिन्थे । ‘देवघाटतिर पनि देखिन्थ्यो भन्ने सुनेको हो तर म आफँैले देखिनँ । तल गोलाघाटमा चार पाँचवटा, अमलटारीमा सातवटासम्म र तमासपुरदेखि त्रिवेणीसम्मको क्षेत्रमा सात आठवटा डल्फिन मैले देख्ने गरेको थिएँ’ चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले भने । तर ४० सालयता डल्फिन कम देखिन थालेको उनले बताए । ‘चार वर्षअघि खोरिया मोहन क्षेत्रमा एउटा देखेको थिएँ । त्यसपछि दुई वर्षयता भेलौलीमा दुईवटा देखिएका छन्’ यादवले भने । नदीमा डल्फिन देखा पर्नु भनेको पानी प्रदूषित नभएको प्रमाणित हुनु हो भन्छन् निकुञ्जका सहायक संरक्षण अधिकृत खड्का । ४० साल पछाडि नारायणी नदी प्रदूषित हुने क्रम बढेसँगै डल्फिनहरु संकटमा परेको पूर्वसंरक्षण अधिकृत यादवको भनाइ छ । ‘डल्फिन देख्दा हामी खुसी छौँ । किनभने डल्फिनलाई एकदम राम्रो र शुद्ध पानी चाहिन्छ । निकुञ्जसँग जोडिएको नदीमा त्यस्तो पानी हुनु भनेको यहाँको पर्यावरणलाई पनि ठूलो मद्दत पुग्नु हो’ सहायक संरक्षण अधिकृत खड्काले भने । डल्फिनको मुख्य आहारा माछा हो । निकुञ्जसँगै जोडिएको अर्को नदी राप्तीमा डल्फिन पाइँदैन । ‘राप्तीमा धेरै वर्षअघि एकपटक देखेको थिएँ । त्यो पनि के कसरी त्यहाँ पुगेको हो । राप्ती डल्फिनको मुख्य बासस्थल होइन । नारायणी हो’ पूर्वसंरक्षण अधिकृत यादवले भने । कर्णाली नदीमा पनि डल्फिन देखिने यादवले बताए । ‘हरायो कि भनेको डल्फिन नारायणीमा पनि देखा परेको छ । विस्तारै संख्या पनि बढ्ला’ सहायक संरक्षण अधिकृत खड्काले भने ।