चितवन राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय उपाधि
बाघ संरक्षणमा विश्वमै उदाहरणीय प्रगति हासिल गरेको भन्दै नेपालको चितवन राष्ट्रिय निकुञ्जलाई क्याट्स भनिने एक प्रतिष्ठीत अन्तर्राष्ट्रिय उपाधिबाट प्रमाणित गरिएको छ।
विश्वभरका संरक्षित क्षेत्रहरुलाई उनीहरुले अपनाएको व्यवस्थापन र प्रगति अनुरुप मापन गरेर प्रदान गरिने उक्त प्रमाणिकरण पाउने चितवन राष्ट्रिय निकुञ्ज संसारकै पहिलो रहेको विश्व वन्यजन्तु कोषका अधिकारीहरुले बताएका छन्।
नेपालले वन्यजन्तुको चोरीशिकार नियन्त्रणमा निरन्तर हासिल गरेको प्रगतिबाट सिकेर त्यसलाई एशियाभर फैलाउने उद्देश्यले आयोजित एक अन्तर्राष्ट्रिय भेलाको अन्तिम दिन शुक्रबार चितवन निकुञ्जलाई सो उपाधि दिइएको हो।
सुरक्षित थलो
विश्वभर वनजंगलमा अहिले बाघको संख्या ३२ सयको हाराहारीमा छ।
त्यसमध्ये नेपालमा झण्डै २ सय बाघ पाइन्छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै बाघको संख्या करिब १२० छ।
पछिल्ला केही वर्षयता चोरीशिकारको दृष्टिकोणबाट चितवन बाघका निम्ति अति नै सुरक्षित थलो बन्दै गएको बताइन्छ।
चितवन राष्ट्रिय निकुञ्जले हासिल गरेको प्रगतिबाट अन्तर्राष्ट्रिय समुदायपनि चकित परेको संरक्षणकर्मीहरु बताउँछन्।
शुक्रबार उक्त निकुञ्जलाई कन्जरभेसन अस्योर्ड टाइगर स्ट्यान्डर्ड क्याट्स बाट प्रमाणिकरण गर्ने संस्था विश्व वन्यजन्तु कोष अन्तर्गतको टाइगर अलाइभ इनिसिएटिभका क्याट्स म्यानेजर खालिद पाशाले चितवन निकुञ्जको प्रशंसा गरे।
“क्याट्स भनेको कुनैपनि संरक्षित क्षेत्रले बाघ संरक्षणमा हासिल गर्न सक्ने उच्चतम उपलब्धिको मापन हो। संसारका सबै संरक्षित क्षेत्रमध्ये चितवनले बाघ संरक्षणमा सबभन्दा माथ्लो मध्येको स्तर कायम गरेको छ। हामी चितवनको यस उपलब्धिलाई उदाहरणीय मानेर विश्वका अन्य संरक्षित क्षेत्रहरुमा पनि फैलाउन चाहन्छौं,” पाशाले भने।
क्याट्स उपाधि पाउनका निम्ति निकुञ्ज व्यवस्थापन, संरक्षण, स्थानिय समुदाय, वन्यजन्तुको बसोबासको अवस्था, पर्यटन अनि बाघ व्यवस्थापन जस्ता ६ वटा पाटाहरुको पहिले राष्ट्रिय स्तरमा अनि पछि अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गरिएको उनले बताए।
नेपाल बाहेक भारत, बंग्लादेश, रुस, भुटान, जस्ता देशले पनि क्याट्समा सूचीकृत हुनका लागि दावी पेश गरेको तर चितवनले पहिलो बाजी मारेको बताइएको छ।
अन्तर्राष्ट्रिय समन्वय
काठमाण्डौंमा शुक्रबार सम्पन्न बाघ पाइने १३ एशियाली देशहरुको सम्मेलनले नेपालले हासिल गरेजस्तै शून्य चोरीशिकारको लक्ष्यलाई एशियाभर फैलाउन तत्काल आपसी सहयोग बढाउन प्रतिबद्धता जनाएको छ।
पाँच दिने सम्मेलनको अन्त्यपछि यसको उपलब्धिबारे बताउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक टिकाराम अधिकारीले भने, “चोरीशिकार भनेको स्थानविशेषमा हुने हो। तर वन्यजन्तुको कारोबार त अन्तर्राष्ट्रिय स्तरमा हुन्छ। यस्ता अवैध कारोबार रोक्न त अन्तर्राष्ट्रिय समुदायकै पहल हुनुपर्छ। यस्तो पहल कसले र कसरी गर्ने भन्ने बारे हामीले बहस गरेका छौं।”
उक्त बहसको निचोडमा वन्यजन्तुको क्षेत्रमा क्रियाशील तीनवटा क्षेत्रिय र अन्तर्राष्ट्रिय सञ्जालहरुलाई समन्वय र सूचना आदान प्रदानको जिम्मा दिने निर्णय भएको छ।
वितेको चार वर्ष यता दुई वर्ष शून्य चोरीशिकार मनाएका कारण नेपालले वन्यजन्तु संरक्षणको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रशंसा बटुलिरहेको छ।
तर खासगरी वन्यजन्तु चोरीशिकारमा लागेकाहरुले नेपाल भारतबाट चीन प्रवेश गराउने नाकाको रुपमा प्रयोग गरीरहनु अनि दुर्लभ वन्यजन्तुका अंगप्रत्यंगका माग उच्च रहिरहनुले चुनौति भने कायम नै राखेको छ।