मिस नेपाल प्रतियोगिताको २० औं संस्करण आगामी वैशाख २ गते काठमाडौमा हुने भएको छ । आयोजक द हिडन ट्रेजरले प्रतियोगिताका लागि आइतबारबाट आवेदन खोलेको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरुले फागुन १६ गतेसम्म आवेदन बुझाउन पाउने द हिडन ट्रेजरले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आवेदन बुझाउनेमध्ये अन्र्तवार्ता र अडिसनबाट चुनिनेहरुलाई वन्यजन्तु तथा प्रकृति संरक्षण र महिलामाथि हुने हिंसाका विषयमा केन्द्रीत भइ ६ हप्ताको गहन प्रशिक्षण दिइने हिडन ट्रेजरले बताएको छ । हिडन ट्रेजरले प्रतियोगिताका लागि प्राविधिक टिम छनोट गरेको छ ।
आबेदनका लागि १९ देखि २४ वर्षको उमेर, कम्तीमा ५ फिट ४ इन्च उचाइ र प्लस टु पास गरेको हुनुपर्ने आयोजकले मापदण्ड बनाएको छ । फयान्टा मिस नेपाल वल्र्ड २०१५ को विजेताले एक लाख रुपैयाँ पुरस्कार, मिस नेपाल अर्थ (फस्र्ट रनरअप) ले ६० हजार र मिस नेपाल इन्टरनेसनल (सेकेन्ड रनरअप) ले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै द काठमाण्डु पोस्ट मिस इन्टलेक्ट, फयान्टा मिस बब्ली, हुन्डाई मिस फ्रेन्डसिप, बर्जर मिस टयालेन्ट, गणपति मिस फोटोजेनिक, अल्फा बिटा मिस स्कलर अफ द इयर र मिस गोस गर्ल २०१५ गरी सात सबटाइटल पनि राखिएको छ ।
द पपुलर च्वाइस अवार्ड का विजेताले मिस नेपालको टप टेनमा सीधै सहभागी हुन पाउने आयोजकको भनाई छ । चीनको मोबाइल डिजाइन कम्पनी जियोनीले यो वर्ष पपुलर च्वाइस अवार्डको प्रायोजन गरेको बताइएको छ । एसएमएस भोटिङका आधारमा पपुलर च्वाइस विजेता हुनेछ । अन्तिम आवेदन लिएपछि अन्तर्वार्ता र अडिसनका आधारमा सहभागी छनोट गरि छ साताको प्रशिक्षण शिविर चलाइने आयोजकले जनायो ।