एक करोड मुल्य पर्ने अवैध हिरासहित पक्राउ
एक करोड मुल्य पर्ने अवैध हिरासहित तीनजना पक्राउ चितवन-चितवन प्रहरीले अनुमानित एक करोड १० लाख रुपैयाँ मुल्य पर्ने हिरासहित तीनजनालाई पक्राउ गरेको छ। पर्यटक ओसार्न प्रयोग हुने हरियो रंगको नम्बर प्लेट भएको ग १ य ३३० नम्बरको कारमा चितवन रत्ननगरबाट भरतपुर तर्फ आउँदै गरेको अवस्थामा सोमबार बिहान प्रहरीले उनीहरुलाई टिकौली गोन्द्राङमा पक्राउ गरेको हो।
बरामद भएको हिरा साढे ११ क्यारेटको रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन अधिकारीले जानकारी दिए। नेपाल सुन चाँदी व्यवसायी संघ चितवनका पदाधीकारीहरुले बरामद वस्तु हिरा भएको हो वा होइन भन्ने कुरा एकीन गरेका थिए। प्रहरीले विभिन्न आकारका छ थान हिरा बरामद गरेको थियो। २५ सेन्टका दुई थान, ३० सेन्टका एक थान, एक दशमलब १० क्यारेटका एक थान, चार दशमलब १० क्यारेटका एक थान र पाँच दशमलब शुन्य पाँच क्यारेटका एक थान हिरा प्रहरीले बरामद गरेको हो। हिराको तौल क्यारेट र सेन्टमा नापीने नेपाल सुन चाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष विपेन्द्र रामुदामुले जानकारी दिए। 'हिरा आयातका लागि बैधानिक रुपमा अनुमति लिएको हुनु पर्छ।
जो मान्छेहरु हिरा बोकेर हिँडेका थिए उनीहरुसँग त्यसको बैधानिकता पुष्टि गर्ने कुनै आधारहरु फेला परेको पाइएन' संघका अध्यक्ष विपेन्द्र रामुदामुले भने। प्रहरीले लम्जुङ टक्सार गाविस वडा नं. ९ का २६ वर्षीय मुक्तराज मल्ल र भारत हैदराबाद हिमायतनगरका ३२ वर्षीय राजकुमार थापालाई समाएको छ। त्यस्तै पक्राउ परेका अन्य एकजना कारका चालक नवलपरासी दाउन्नेदेवी गाविस वडा नं ३ का २३ वर्षीय जिवित गुरुङ रहेका छन्। 'उनीहरु तीन चार दिनअघि सुनौलीबाट नेपाल छिरेको पत्ता लागेको छ। सिधै पोखरा र त्यसपछि काठमाडौंसम्म पुगेको खुलेको छ।
काठमाडौंबाट चितवन आएर हिरा बिक्री गर्न खोज्दा हामीलाई जानकारी आएको हो' डिएसपी अधिकारीले भने। पक्राउ कार्यमा संलग्न प्रहरी निरीक्षक रुगम कुँवरका अनुसार मुक्ताराज मल्लको खल्तीबाट कागजमा पोको पारेर राखेको अवस्थामा हिरा बरामद भएको हो। 'उनीहरुले स्थानीय बजारमा ८० लाखसम्म यसको मुल्य गरेको पत्ता लागेको छ। ८० लाख हालेर समान किन्ने तत्कालै निस्कन गाह्रो भएकाले उनीहरु विभिन्न ठाउँ भौतारिदै हिँडेका थिए' प्रहरी निरीक्षक कुँवरले भने।
डिएसपी अधिकारीका अनुसार उनीहरुलाई भन्सार ऐन अनुसार कारवाही चलाउन राजश्व अनुशन्धान विभागको जिम्मा लागाइने छ। 'तर यत्रो मुल्यको हिरा चोरी गरेर ल्याएको पनि हुन सक्छ। त्यो विषयमा पनि हामी अनुशन्धान गर्ने छौं' डिएसपी अधिकारीले भने। बरामद हिरा निकै उच्च कोटीको भएको सुनचाँदी व्यवसायीहरु बताउँछन्। 'यो एक दमै उच्चकोटीको हिरा हो। स्थानीय स्तरमा यसको बिक्री खासै हुँदैन। धनाड्य र सौखिनहरुले मात्रै यस्तो हिरा राख्छन्। स्थानीय बजारको अवस्था हेरेर बरामद हिराको मुल्य एक कारोड १० लाख रुपैयाँ पर्ला भनेको हो। तर अन्तराष्ट्रिय बजामा यसको मुल्य निकै धेरै छ' सुनचाँदी व्यवसायी संघका अध्यक्ष विपेन्द्र रामुदामुले भने।