विषादी मिसाएको गहुँको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु, १५ बिरामी

'किरा आदिबाट बीऊ जोगाउन विषादी हालेर भकारीमा भण्डारण गर्ने चलन छ। बीऊका लागि राखिएको गहुँ पिनेर रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ', घिमिरेले भने।प्रजिअ घिमिरेका अनुसार घट्टमा गहुँ पिनेपछि उनीहरुले ज्यालामा पिठो नै छोडेका थिए। उनीहरुले छोडेको गहुँको पिठोको रोटी खानेहरु बिरामी छन्।

मृत्यु हुनेमा सन्तबहादुर तामाङ (६०), फूलामाया तामाङ (२५), सबिता तामाङ (७), अर्जुन तामाङ (५), रमेश तामाङ (५) र अनिता तामाङ (साढे २ वर्ष) रहेको जिल्ला प्रहरी कार्यालयका जवान पुरुषोत्तम अधिकारीले जानकारी दिए। उनका अनुसार सन्तबहादुर र फूलामाया ससुरा बुहारी हुन्।
विषाक्त पिठोको रोटी खाँदा बिरामी भएका १५ जनामध्ये ११ जनालाई काठमाडौंको मनमोहन अस्पताल र ४ जनालाई शिवज्यती अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले घटना बिहान ७ बजेतिर भएको बताए। घटनास्थल धादिङको गजुरी बजारबाट २२ किलोमिटर दक्षिणतर्फ पर्छ।