अपहरणको नाटक गरी पैसा पचाउन खोज्ने प्रहरी नियन्त्रणमा
जनकसिंह, सिरहा, १९ फागुन, साहुले बैंकमा हाल्न पठाएको रकम पचाउन अपहरणको नाटक गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सिरहाको गोलबजार–८, चोहर्वाका असलम मियाँको गार्मेन्टमा काम गर्ने भारत विहार हाबिबोरेराका ५० वर्षीय जावेद मियाँलाई ३१ लाख ३३ हजार रुपैयाँ सहित इलाका प्रहरी कार्यालय गोलबजारमा सार्वजनिक गरेको हो ।
जग्गा व्यवसाय समेत गर्दै आएका आसलमले सिरहाका राम सेवक यादवसँग खरिद गरेको जग्गाको पैसा बुझाउन गोलबजार स्थित ग्लोबल आइएमई बैंकमा हाल्न पठाएको ३१ लाख ७४ हजार रुपैयाँ लिएर फरार भई हिजो साँझ मात्र उदयपुरको जलजलेबाट अपहरण परेको खबर असलमलाई गरेका थिए । हिजो अपरान्ह पैसा हाल्न गएका जावेद सम्पर्क विहिन भएपछि असलमले प्रहरीलाई खबर गरेका थिए । असलमले खबर पाउना साथ प्रहरीलाई जानकारी गराएपछि प्रहरी खोजीकोलागि त्यस तर्फ गएको थियो ।
प्रहरीले जावेदलाई जलजलेको एक होटलबाट नियन्त्रणमा लिएको जनाएको छ । जावेद होटलमा गई आफू यति पैसा लिएर बैंकमा हाल्न गएको र त्यसै बेला अपहरणकारीले मलाई अपहरण गरी सबै पैसा खोसेर उदयपुरको जंगलमा छोडेको भन्दै हस्याङ् फस्याङ गर्दै आएको होटलवालाले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष निरौलाले जानकारी दिनुभयो ।
जलजलेबाट गोलबजार प्रहरीमा ल्याएर लामो सोधपुछपछि मात्र जावेदले पैसा आफैसँग रहेको स्वीकार गरेको इन्सपेक्टर निरौलाले बताउनु भयो । पत्रकार सम्मेलनमा इन्सपेक्टर निरौलाले भन्नु भयो, 'हामीले जावेदलाई ल्याईसकेपछि उनीसँग निकैबेर सोधपुछ गर्यौं, बितेराती एक बजेतिरमात्र उनले आफैसँग पैसा रहेको स्वीकार गरे ।'
त्यसपछि उनले डेराको भन्साघरमा कालो प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा रकम बरामद गरेको इन्सपेक्टर निरौलाले जानकारी दिनुभयो । पैसाधनी असलमले दाबी गरेअनुसार अझै ४१ हजार रुपैयाँ अपुग रहेको छ । असलमले दाबीगरेको बाँकी रहेको ४१ हजार रुपैया उदयपुरको जंगलमा झोला सहित मिल्काएको जावेदले बताएका थिए । तर, प्रहरी गएर खोज्दा झोला फेला नपरेको समेत बताइएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने क्रममा जावेदले ठूलोमात्रामा रकम देखेपछि आफ्नो मनमा लोभ पलाएको बताउनु भयो । पत्रकारहरुसँग उहाँले भन्नुभयो, 'पैसा देखेपछि मलाई के भयो भयो, मेरो मनमा खोट आएछ, त्यसैले गल्ती गर्न पुगेँ ।' जावेदलाई आवश्यक कारवाहीकोलागि अदालतमा बुझाउने पत्रकार सम्मेलनमा उपस्थित जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रामकृपाल साहले जानकारी दिनुभयो ।
जावेद पाँच वर्षभन्दा लामो समयदेखि असलमको कारखानामा काम गर्दै आएको जनाएको छ । आफ्नो सबैभन्दा विश्वास पात्र रहेकोले उनलाई यत्रो रकमको कारोवार गर्न दिदैँ आएको थियो आज यस्तो गर्ला भन्ने विश्वासै नलागेको असलमले बताउनु भयो ।