Nepali Tara ,TOP 5


प्रिय दर्शक श्रोताहरू,

यहाँहरूले यस कार्यक्रम प्रति देखाउनु भएको चिन्ता र चासोले हाम्रो ध्यानाकर्षण गरेको छ । यहाँहरूको सुझावकालागि धन्यवाद । हरेक कार्यक्रमका केहि मान्यता र नियम हुन्छन सोहि अनुरूप हामी आयोजकले चल्नु पर्ने हुन्छ । नेपाली ताराले जज र भोटिङलाई बराबर दर्जा दिएको थियो र छ । त्यसैले गल्ति गर्दा निर्णायकहरूको कम नं पाए पनि भोट धेरै आएर सो प्रतिस्पर्धी सेफ हुन सक्छ र भोट कम पाउदा निर्णायकको बढि नं ले पनि सेभ नगर्न सक्छ । हाम्रा सबै निर्णय यसरि नै भएका छन र सो नियम लागू गरि निर्णय गर्दा सबै निर्णायकका साथै मेन्टर जज पनि सहभागी हुने हुदां धाँधली भयो, कसैलाई काखा कसैलाई पाखा लगाईयो भन्नु न्यायोचित हुदैन । राम्रो प्रतिभा आउट हुदां हामी तपाँईहरू भन्दा बढी मर्माहत हुन्छौं । निर्णायकहरूले गर्ने मार्किंङ विभिन्न मापदंडको आधारमा हुन्छ त्यसमा केवल टाईमिङमात्र हुदैन । सुर ताल का साथै प्रतिस्पर्धीमा रहेको क्षमता र सांगीतिक ज्ञानको पनि मुल्यांकन गरिने गरिएको छ ।
आर्थिक चलखेल भयो भन्दै गर्दा हामीले बुझ्नु पर्ने कुरा भनेको हाल टप १० मा परेका प्रतिस्पर्धीको आर्थिक अवस्था कस्तो छ भन्ने हो, के साच्चै नेपालको विभिन्न स्थानबाट छानिएर आएका यी सबै मध्यम र निम्न वर्गीय पृष्ठभूमिका प्रतिस्पर्धी आर्थिक चलखेल गर्ने क्षमता भएका छन त ? यस्तो भन्दै गर्दा कतै हामीले उनिहरूको प्रतिभा र क्षमतालाई नै दुत्कार्दै त छैनौं, कृपया एक पटक सोची दिनु होला । यदि त्यस्तो चलखेल हुने भए सायद टप १० मा आर्थिक अवस्था सुदृढ़ भएका शहरमै बसोबास गर्ने धनाढ्यहरूमात्र पर्थे होलान । हामी आयोजकलाई यस पटक छानिएका सबै टप १० काठमांडू बाहिरबाट पर्नुमा र सबै मध्यम र निम्न वर्गका क्षमतावान कलाकार हुनुमा गर्व लागेको थियो र छ । यस कार्यक्रम मार्फत विभिन्न तालीम र कक्षाहरू दिई उनिहरूलाई अझ सक्षम र अझ बढि आत्मविश्वासी बनाउन सकेकोमा हामी सधैं खुसि हुने छौं ।
आयोजक र निर्णायकका लागि सबै प्रतिस्पर्धी बराबर छन । हामीले सधैं सबैलाई समान व्यवहार गरेका छौं । सबै प्रतिस्पर्धीले हामीलाई गरेको बिस्वास र हाम्रो व्यवहार प्रति दिएको सम्मानले हाम्रो कार्यको पारदर्शितालाई प्रस्ट्याउँछ ।
बिनोद राई होस वा सृष्टि सुनार, सुष्मा बिक होस वा अंकित बाबु अधिकारी, या विशाल आत्रेय होस वा सुदेश सुबेदी हाम्रा लागि सबै उत्तिकै होनहार प्रतिभावान र नेपाली संगीत क्षेत्रमा चम्कने तारा नै हुन । उनिहरू टप १२ मा छानिनु भनेकै हाम्रो उपलब्धि हो । तपाँईहरूले आफ्ना गायक प्रति दर्शाउनु भएको मायाले गर्दा नै उनिहरू आज यो स्थानसम्म पुग्न सफल भएका छन । यहाँहरूको जानकारीकालागि यिनै निर्णायकहरूले टप २० राउंडमा केहि नम्बर कम ल्याए पनि केहि गर्ने क्षमता छ भनेर टप १० मा छानेका मध्ये १ बिनोद राई हुन भने अर्का प्रतिस्पर्धी सुदेश सुवेदी हुन । र साच्चै दुवैले निर्णायकलाई सहि साबित पनि गरे ।
हामीले पारदर्शी रूपमा निर्णायकको मार्क र भोटलाई क्रमिक रूपमा राखी, दुवैको तालिकामा प्रतिस्पर्धीको स्थानलाई नं दिई, सो तालिकामा सबैभन्दा तल पर्ने प्रतियोगी बाहिरिने नियम पालना गर्दै आएका छौं । र यो नियमको पालना यसरि नै अंतिम राउंड सम्म गरिने पनि जानकारी गराउन चाहन्छौ । यो नियमको पालना गर्दै गर्दा हामीले अत्यन्तै प्रतिभाशाली देखेका प्रतिस्पर्धी पनि आउट हुन सक्नेछन र सो निर्णय लिदां हामी पनि उत्तिकै मर्माहत हुनेछौं तर नियम पालना गर्नु हामी आयोजकको बाध्यता हो ।
त्यसैले तपाँई सबै दर्शक श्रोतालाई यस कार्यक्रमको उद्देश्य प्रति सदैव बिस्वास गर्नु हुन र यस्तै माया दिन हुन आग्रह गर्दछौं ।
हामी नेपाली गीत संगीतको प्रवर्धनकालागि सदैव ईमानदारीताकासाथ समर्पित रहने नै छौं ।
धन्यवाद ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News