लर्तरो मान्छेले मलाई झेल्न सक्दैन' आस्था राउतको पहिलो एल्बम 'आधार'का गीत 'झुम्के बुलाकी' र 'चौबन्दीमा पटुकी' निकै रुचाइएका छन्। स्टेज कार्यक्रमका लागि यतिबेला उनको माग उच्च छ। देशका साथै विदेशका धेरै ठाउँमा उनले आफ्नो प्रस्तुति पस्केकी छिन्।
एक महिनापछिका कार्यक्रमका लागि समेत उनी 'बुक्ड' हुन्छिन्। नयाँ वर्षका अवसरमा हुने कार्यक्रमका लागि मात्रै २२ ठाउँबाट फोन आइसकेको बताउँछिन् उनी। शनिवार अन्तरंग कुराकानीका लागि शुक्रवार कार्यालय आइपुगेकी उनी हतारमा थिइन्। उनी त्यही दिन अस्ट्रेलिया उड्ने तयारी थियो। आउनेबित्तिकै नेपाली उखान भनिन्, 'अरू कुरा छाड्दिऊँ, पोइल जाने कुरा गरौँ।'

अर्थात्, कामको कुरा गरौँ। उनीसँग डिबी खड्काको अन्तरंग कुराकानीः आधुनिक आस्थालाई पुराना नेपाली उखानटुक्का पनि आउने रहेछ! मलाई टिपिकल नेपाली कुरा मन पर्छन्। यस्तो धेरै उखानटुक्का आउँछन् पनि। कुराको प्रसंगमा जोडिहाल्छु। मेरा साथीहरू त 'कसरी आउँछ तँलाई यस्तो?' भन्छन्। म आफू जे छु, त्यस्तै प्रस्तुत हुन रुचाउँछु। मलाई यस्ता कुरा प्राकृतिक लाग्छन्।
'दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ' गीतमै भनेकी छु नि। स्टेजमा प्रस्तुत हुँदा पनि यस्ता कुरा बोल्नुहुन्छ? बानी नै चञ्चल छ। स्टेजमा पुगेपछि दर्शकलाई रमाइलो गराउन अनेक हतकण्डा अपनाउँछु। गीत गाउने मात्र होइन, हाँस्ने/हँसाउने काम पनि गर्छु। प्रसंगअनुसार जोक पनि भन्छु। एकचोटि म गएको ठाउँको दर्शकले कहिल्यै नबिर्सिऊन् भन्ने लाग्छ। त्यही भएर एकै थलोमा दोहोर्यापएर बोलाइरहेका छन्! एकचोटि गएको ठाउँका मान्छेसँग उमेरअनुसार साइनो गाँसेर आएकी हुन्छु।
पैसा ठूलो कुरा होइन, मन ठूलो हुनुपर्छ भन्ने मान्यता छ मेरो। माया दिए न माया पाइन्छ। सकेसम्म सबैसँग राम्रै गर्न खोजिन्छ। एकपल्ट त 'कन्सर्ट गर्नेहरूले भनेजस्तो पारिश्रमिक नै दिँदैनन्, त्यसैले त्यति जान्नँ' भन्नुहुन्थ्यो? मेरो त्यस्तो 'हाई डिमान्ड' छैन। आफ्नो 'स्ट्यान्डर्ड'अनुसार दक्षिणा त माग्नुपर्यो नि। त्यसमा तलमाथि नहोस् भन्ने चाहन्थेँ। मेरा लागि पैसै ठूलो कुराचाहिँ होइन।
यो सिजनमा कतिवटा कार्यक्रम गरियो त? अघिल्लो वर्षको जति यसपल्ट गरिनँ। किनभने, म मास्टर्स पढिरहेकी छु। जाँचका कारण गत वर्ष नगएको ठाउँमा मात्रै गएँ। विदेशचाहिँ गइरहेकी नै छु। 'चौबन्दीमा पटुकी' अनपेक्षित रूपमै चर्चित भयो है! त्यही त। यसको भिडियो समेत बनेको छैन। नेपाली गीत सुन्ने अधिकांशले यो गीत सुनिसकेका छन्। पहिलो एल्बम 'आधार'का चलेका गीत 'डिमान्डवाला' छन्।
स्वभावअनुसारका गीत छान्नुभएको हो? मैले रोनाधोनाका गीत कहिल्यै गाइनँ। बालगीत पनि मेरा त्यस्तै खालका थिए। सुरेश अंकल (संगीतकार सुरेश अधिकारी) लाई मेरो स्वभाव थाहा छ। त्यसैले यस्ता गीत सिर्जना गर्नुभयो। मलाई सानैदखि 'मोटिभेसनल' गीत मन पर्थे। मेरो आवाज पनि 'हस्की' छ। आवाजअनुसार पनि यस्ता गीत 'सुट' हुन्छन् । रिमिक्स गीतले चिनायो र पार्श्वगायनले थप चर्चित बनायो।
तर, आफ्नो एल्बम 'आधार'का गीत हिट भएपछि पार्श्वगायन एकाएक कम गर्नुको कारण? फिल्म 'मायाज बार'को 'माया यो माया' हिट भयो। धेरैले त्यसलाई आइटम गीत भन्ठाने। तर, मैले बुझेअनुसार त्यो आइटम होइन, फिल्मकी मुख्य हिरोइनले नै नाच्नै गीत कसरी आइटम हुन्छ? डान्सिङ गीत हो त्यो। त्यसपछि फिल्मका आइटम गीतमा यस्तरी अफर आयो कि सबै गीत गाउने हो भने डेढ सय फिल्ममा गाइसकेकी हुन्थेँ। आइटम गीतको कुनै भविष्य छैन, यो एउटा भेल हो। भेलसँग आफ्नो करिअर बगाउनु हुँदैन भनेर छानेर मात्रै गाउन थालेकी हुँ। मैैले छाडेका केही गीत हिट पनि भएका छन्
, तर मलाई कुनै बिस्मात छैन। केही गीतका शब्द मन परेनन् भनेर समेत अस्वीकार गरेको सुनियो। व्यावसायिक गायिका भएपछि यस्तो भन्न पाइन्छ र? त्यै आइटम गीत त थिए ती। भारतीय फिल्मबाट यो आइटम गीतको खोला बगेर नेपालमा आयो। तर, यहाँ यो रोकिन सकेन, बग्दै कता पुग्यो कता! आइटम गीत भनेर आएकामध्ये मैले अस्वीकार गरेकामा शब्द उच्छृंखल थिए।
म संगीतसँगै हुर्केकी मान्छे हुँ। जस्तो पायो, त्यस्तै गीत गाएर ममीबाबाका लागि पनि बत्तीमुनिको अँध्यारो हुन चाहन्नँ। आवाजजस्तै मान्छे पनि 'बोल्ड' हुनुहुन्छ है! बाहिर प्रस्तुत हुने त्यसरी हो। अन्यायविरुद्ध लड्छु। हामी कलाकार अरूका लागि लड्नुपर्छ जस्तो लाग्छ। तर, भित्री रूपमा साह्रै पिञ्चे छु। आँशु त आँखाको डिलैमा छन्, अलिकति दुःख लाग्ने कुरा भयो भने आँशु झरिहाल्छ। संगीत क्षेत्रको मामिलामा यो जरुवाको पानी हो, नहल्लाईकन पिउँदा राम्रो हुन्छ भन्छु। हल्लायो भने त पिँधको माटोले धमिलिहाल्छ नि।
तपाईंलाई सबैभन्दा धेरै के कुराले दुःखी बनाउँछ? कतिपय अवस्थामा मान्छेबाट गल्ती हुन्छ, तर माफी माग्न ऊ तयार हुँदैन। मानवीय स्वभाव आफ्नो दुःखमा भन्दा पनि बढी अरूको खुशीमा दुःखी हुने हुन्छ। धेरै जना अरू खुशी रहेकोमा दुःख मनाउ गर्छन्। कलाकारितामा यो अझ धेरै छ। राम्रो प्रतिभा र राम्रो कामबारे एक शब्द फेसबुकमा खर्चिन निकै कष्ट हुन्छ मान्छेहरूलाई। मैले अरूको खुशीमा खुशी हुन सक्दा कहिल्यै दुःखी हुनुपर्दैन भन्ने शिक्षा घरमै पाएँ। त्यसैले सानातिना दुःखले मलाई छुँदैन। आफ्नो कमजोरी लुकाउने प्रयास कत्तिको गरिन्छ? मलाई कमजोरीसहित मान्छेलाई स्विकार्नुपर्छ जस्तो लाग्छ।
अस्ति बीबीसीमा मेरो अन्तर्वार्ता थियो। प्रश्नकर्ताले सबै पोजिटिभ कुरा खोतल्नुभयो। आफैँले 'मेरो नराम्रो बानी पनि सोध्नुहोस् न' भनेँ। उहाँ छक्क पर्नुभो। कमजोरी छोपेर अघि बढ्नु त नेपाली उखान 'डोकाले छोप्दा देखिन्छ' भन्याजस्तै हो। आफ्ना कमजोरी एकछिनका लागि लुकाउन सकिएला। डोकाले छोप्दा टाढाबाट नदेखिएला तर नजिक आउँदा त छर्लंगै देखिन्छ नि। कमजोरीसहितको मान्छेका रूपमा अरूका मनमा बस्ने सके दिगो हुन्छ।
ममीले 'सफलताले जस्तो उचाइ चुमे पनि पैताला भुइँमै राख्नू' भनेर सिकाउनुभएको छ। मायाप्रेमका गीत गाउन त्यति रुचाउनुहुन्न रे। किन? मैले गायन करिअरको सुरुवात नै 'क'बाट 'कछुवा'बाट गरेकी होइन। म भाग्यमानी छोरी हुँ। बाआमाको एक्लो सन्तान हुँ। छोरा/छोरी जे भने पनि मै हुँ। तर, सबै नेपालीका छोरी आस्था राउतजस्तो भाग्यमानी छैनन्। त्यतिबेला नै छोरा र छोरीमाथि हुने विभेदको गीत गाइसकेकी थिएँ। अधिकांश मेरा बालगीत 'विद्रोही' छन्।
जसलाई म 'रिभाइब' गर्ने योजनामा छु। अब ठूली भएँ, महिला हकहितका लागि गाउँछु। आफू केटीबाट महिलाचाहिँ कहिले हुने? ठूली भएपछि यो कुराको पिर घरपरिवार र आफन्तलाई हुँदो रहेछ। घरमा भनेकी छु, 'राइट पर्सन' फेला पारेपछि भन्छु भनेर। बाआमाले 'प्रेसर' गर्नुभएको छैन। तर, अस्ति एउटा चाइनिज फिल्म हेरेकी थिएँ। त्यहाँ भनिएको थियो, 'मान्छे दुई प्रकारका हुन्छन्। एउटा धोका दिन चाहन्छ, अर्काे धोका दिन्छ।' मलाई यी दुई खालेभन्दा भिन्न मान्छे चाहिएको छ।
त्यस्तो 'पर्फेक्ट' मान्छे पाइएला र? जस्तो पायो, त्यस्तो वा लर्तरो मान्छेले मलाई झेल्न सक्दैन! मेरो जीवनसाथी मात्रै होइन, मेरा बाआमाको छोरा हुन सक्ने मान्छे चाहिन्छ। किनभने, बाआमाकी एक्ली सन्तान हुँ म। कहीँ होला, एक दिन भेटिएला। राम्रो मान्छेलाई भगवान्ले राम्रैका लागि पठाएका हुन्छन् रे! तपाईंलाई चाहनेहरूको लाइनमा त्यो मान्छे छैन? म लाइनमा राख्ने खालको मान्छे नै होइन। मलाई आंशिक माया चाहिँदैन।
आंशिक बदली हुँदा पानी नपरेजस्तै, आंशिक मायाको के काम? तपाईंको जीवनसाथी हुन चाहनेमा न्यूनतम के-के गुण हुन जरुरी छ? कोही पनि फर्फेक्ट हुँदैन भनेर पनि भनिन्छ। तर, इमानदार होस्। नारीलाई सम्मान गरोस्, सपोर्ट गरोस्। ममीले लेखिदिनुभएको गीतमा भनिएजस्तै, 'म रुँदा सँगै रुने धेरै पाइन्छ, मलाई त आँशु पुछ्ने साथी चाहिन्छ।' यसले पनि धेरै बुझाउँछ।
गीत गाउने मात्र होईन,हाँस्ने हसाँउने पनि गर्छु--आस्था राउत
Arts,entertainment and News